आईपीएल आजदेखि, उद्घाटनमा चेन्नई र बैंगलोर भिड्दै….

✍ नारायण पोख्रेल    2 years ago

नयाँदिल्ली–बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ । भारतको विभिन्न शहरमा खेलिने आईपीएलको उद्घाटन चेन्नईमा शनिबार साँझ ८ः१५ बजे हुनेछ ।


उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको प्रतिस्पर्धा हुँदैछ । 

चेन्नईको कप्तानमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी छन् । 

बैंगलोरको कप्तानमा भारतीय कप्तान विराट कोहली रहेका छन् । स्टार खेलाडीले भरिएको दुवै टोली जित निकाल्न लालायित देखिएका छन् ।

आईपीएलमा आठ टोलीबीच डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष चार टोलीले प्ले अफ खेल्नेछन् । नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आइतबार मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ ।

आईपीएलमा यस सिजन सहभागी टोलीमा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।