२७ वर्षपछि भुटान फर्कने आस

✍ बिप्लब पोख्रेल    2 years ago

बेलडाँगी र पथरी शिविरमा अब ६ हजारजति शरणार्थी छन् । डेढ लाखभन्दा बढी तेस्रो देशमा पुनर्वास भइसकेका छन् ।


(दमक) — बेलडाँगी-३ की ६४ वर्षीया मधुमाया मगरलाई २७ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी छन् । दुई महिनाअघि भुटान र्फकन पाऊँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छन् । उनीचाहिँ कान्छा छोराबुहारीसँग शरणार्थी शिविरमा छिन् । पति मानध्वज डेढ वर्षअघि दिवंगत भए ।

यूएनएचसीआरले १९ डिसेम्बरदेखि १० दिनसम्म भुटान फर्किन इच्छुक शरणार्थीको विवरण संकलन गरेको थियो । ७ जनवरीदेखि एक महिनासम्म फाराम भरेकाहरूसँग अन्तर्वार्तासमेत लिइसकेको छ । ‘अन्तर्वार्तामा किन भुटान फर्किन चाहनुभएको भनी सोधेका थिए, मैले मेरो कुरा राखें,’ मगरले भनिन् ।

शरणार्थीले फाराममा नामथर, शिविरको छाप्रो नम्बर, परिवार संख्या, पुरुष-महिलाको संख्या, १८ वर्षमाथिका र मुनिकाको संख्या, सम्पर्क नम्बर, भुटानको स्थायी ठेगाना र अब गएर बस्न चाहेको स्थान उल्लेख गरेका छन् । स्रोतका अनुसार स्वदेश फिर्तीका लागि बेलडाँगी शिविरबाट ९ सय ४४ परिवारले फाराम भरेका थिए । उनीहरूमध्ये ३४ परिवार अन्तर्वार्तामा सहभागी भएनन् । १ सय ५० जनाले भने भुटान नफर्किने जानकारी गराएका छन् । त्यस्तै पथरी शिविरमा २८ परिवारले फाराम भरेका छन् ।

यूएनएचसीआरले भुटानी शरणार्थीको दीर्घकालीन समाधानअन्तर्गत तीन विकल्प अघि सारेको थियो । यसअन्तर्गत तेस्रो देश पुनर्वास कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ । सन् २००८ देखि पुनर्वास कार्यक्रम थालिएकामा १ लाख ५० हजारभन्दा बढी भुटानी अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड्स पुगेका छन् । झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा गरी अब ६ हजारजति भुटानी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ ।

लामो समयदेखि स्वदेश फिर्ती अभियानको नेतृत्व गर्दै आएका डीबी सुब्बाले यसपटकको तथ्यांक संकलनबाट आशा पलाएको बताए । ‘हामीले पटकपटक आन्दोलन गर्‍यौं, विज्ञप्ति निकाल्यौं, हारगुहार गर्‍यौं तर कसैले सुनेको थिएन । अहिले यूएनएचसीआर आफैंले विवरण संकलन गरेकाले भुटान फर्किन पाइन्छ कि भन्ने आशा पलाएको छ,’ उनले भने ।

नेपाल सरकारका तर्फबाट शिविरमा खटिएका शरणार्थी समन्वय इकाईका प्रमुख सुरेन्द्रराज दाहालले संकलित तथ्यांककै आधारमा नेपाल-भुटानबीच रोकिएको वार्ता सुचारु गराउने गरी यूएनएचसीआरले फाराम भराएको बताए । ‘नेपालमा रहेका भुटानीबारे अब के गर्ने भन्ने छलफलका लागि पनि यो तथ्यांक संकलन गरिएको हो,’ उनले भने, ‘वार्तामा बस्दा कसरी अघि बढ्ने भन्ने विषय उठाउन शरणार्थीको तथ्यांक संकलन गरिएको मलाई खबर आएको हो ।’ थप जानकारीका लागि यूएनएचसीआरका प्रतिनिधिसँग सम्पर्क हुन सकेन ।

बेलडाँगी शिविर सचिव टीकाराम रसाइलीले आफूहरूको पहिलो माग स्वदेश फिर्ती नै भएकाले यसतर्फ यूएनएचसीआरले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बताए । भुटानी शरणार्थीको ठूलो अपेक्षा भनेकै दीर्घकालीन समाधान रहेकाले यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी रहेको उनको बुझाइ छ । ‘यूएनएचसीआरले धेरै वर्षपछि स्वदेश फिर्तीका लागि फाराम भरेकाले यसमाथि कारबाही चलाउनुको विकल्प छैन,’ उनले भने ।
 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल