अख्तियारकै प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

✍ बिप्लब पोख्रेल    2 years ago

एक लाख घुस लिने क्रममा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले विगतमा पनि घुस लिएको  खुलेको छ । उनीविरुद्ध आइतबार विशेष अदालतमा तीन वटा मुद्दा दायर भएको छ । 


एक महिनाअघि आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई घुस माग गरेको प्रमाणसहित पक्राउ गरेको थियो । घुस लिन गएको अवस्थामा उनी पक्राउ परेका थिए । आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखीदिने भनी  घुस मागेका थिए । बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी कारबाही प्रक्रिया सहजीकरण गरी दिने भनी  एक लाख रुपैयाँ डिल गरेका थिए । 

अनुसन्धानको क्रममा उनले विगतमा पनि घुस लिएको खुलेको छ ।  चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षक विरुद्ध आयोगमा शैक्षिक प्रमाणपत्रसम्बन्धी उजुरीमा उनले १४ हजार आठ सय रुपैयाँ घुस लिएको पुष्टि भएको आयागका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।  

आफूले नपाएको ओहोदा पाएं भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक तरिकाले गैरकानूनी  फाइदा लिने मनसायले अधिकारीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिनियर प्रहरी निरीक्षक हुँ भनी आफ्नो फेसबुकमा  राखेकाले सो कसुरमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ । 

छोराले भ्रष्टाचार गर्दा आमालाई पनि मुद्दा 

कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध अर्काे पनि मुद्दा दायर भएको छ । हाल जेलमा रहेका ढकालले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा समेत अनियमितता गरेको खुलेपछि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

कटारीमा कार्यरत रहँदा उनले सात करोड २२ लाख ९३ हजार एक सय ३२ रुपैयाँ अनियमितता गरेको खुलेको थियो । सो मुद्दामा हाल उनी डिल्लीबजार कारागारमा छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अबधिमा समेत गलत लिखत तयार पारी जम्मा १४  लाख ८९ तीन सय छ रुपैयाँ अनियमितता गरेको खुलेको हो ।  भ्रष्टाचार गरेको रकमबाट आमा प्रेम कुमारी दहालको नाममा खाताहरूमा जम्मा रहेकाले उनकी आमालाई समेत प्रतिवादी बनाई आयोगले मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम आमाको नाममा रहेको रकम जफत गर्ने प्रयोजनका लागि  उनकी आमालाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए । 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल