ललितपुर प्याट्रियट्सलाई ईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि

✍ Admin    2 years ago


काठमाडौं । ललितपुर प्याट्रियट्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई १४ रनले हराउँदै ज्ञानेन्द्र मल्लको ललितपुर च्याम्पियन बनेको हो । उपाधिसँगै ललितपुरले २५ लाख प्राप्त गरेको छ । 

उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझाएको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले  ९ विकेट गुमाएर १४१ रनमात्र बनाउन सक्यो  । 

भैरहवाका लागि प्रदीप ऐरीले ३४ तथा रबी इन्दर सिंहले २९ रन जोडे । यस्तै कुशल मल्लले १६ रन जोडे । कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४–१४ रनमा आउट भए । ललितपुरका ललित नारायण राजवंशीले ३ विकेट लिए  । यस्तै पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा अलआउट हुँदै १५५ रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । उनले ५२ बलमा ५७ रन बनाएर आउट भए । यस्तै सन्दीप जोराले २४ रन जोड्दा गौरब तमोरले २३ रन बनाए । 

त्यस्तै कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडे  । ललितपुरलाई सस्तैमा समेट्न भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै मोहमद नाभिद र रायन टेन डेसकाटेले समान २–२ विकेट लिए  ।