राजपाले बैठक बहिष्कार गर्ने निर्णय गरेपछि सभामुखले बोलाए बैठक

✍ नारायण पोख्रेल    2 years ago

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबीच छलफल हुने भएको छ ।


राजपा नेपालले आज बस्ने प्रतिनिधिसभा बैठक बष्हिकार गर्ने निर्णय गरेपछि सभामुख महराले राजपा नेपालका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । 

मधेश तथा थरुहट आन्दोलनको बारेमा छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन भएको थियो । 

सो आयोगले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो तर सरकारले सो प्रतिवेदन सार्वजनिक नगरेपछि राजपा नेपालका नेताहरुले प्रतिनिधिसभामा कुरा उठाएका छन् । 

प्रतिनिधिसभाका बैठकमा राजपा नेपालका नेताहरुले लगातार कुरा उठाएपछि सभामुख महराले फागुन २६ गते सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए । 

तर सरकारले हालसम्म सो प्रतिवेदन सार्वजनिक नगरेपछि राजपा नेपालले आज बस्ने प्रनिधिसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । 

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आफूहरुले पटक पटक कुरा उठाएपनि सरकारले वेवास्ता गरेको आरोप लगाए ।