भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

✍ बिप्लब पोख्रेल    2 years ago

एजेन्सी – भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।


सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन्ः

प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् ।

 

 

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् ।

उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वा्चित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

अल्का लाम्बाले फेरि अर्को एक ट्वीट गर्दै जबदेखि भारतीय प्रधानमन्त्री मोदीले आफूलाई चौकीदार भन्न लागे त्यसबेलादेखि नेपालीलाई चौकीदार शब्द गाली लाग्न थालेको बताएकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।