प्रदेश ५ मा कर्मचारी व्यवस्थापन सुरु..

✍ नारायण पोख्रेल    2 years ago

रुपन्देही — संघीय सरकारबाट कर्मचारी समायोजन भएर प्रदेश आउन थालेसँगै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चहलपहल बढेको छ । प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सरुवा भएर प्रदेशमा आउने कर्मचारीको हाजिरी अभिलेख राख्न थालेको हो ।


मन्त्रालयले तयार गरेको ११ दफा र १५ उपदफाको कार्यविधिअनुसार आइतबारदेखि बिहीबारसम्म कर्मचारीले हाजिर गरे आफूले चाहेको दुई स्थान रोज्न सक्नेछन् । त्यही विधिबाट अनुसूची फारम भरेकालाई हरेक साताको शुक्रबार रबानापत्र दिएर कार्यस्थल पठाइनेछ ।

मन्त्रालयमा कर्मचारी व्यवस्थापन गर्न छुट्टै शाखा स्थापना गरिएको छ । शाखाले आउने कर्मचारीलाई हाजिर गराउने, अनुसूची फारम भराइरहेको छ । त्यसकै आधारमा पहिलो चरणका कर्मचारी शुक्रबारदेखि फिल्ड जान थाल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव वसन्त अधिकारीले बताए । ‘हामीले कर्मचारी व्यवस्थापनका लागि कार्यविधि तयार गरेर काम थालेका छौं,’ उनले भने, ‘त्यसले कुनै पनि कर्मचारी प्रदेश मातहत मन्त्रालय र कार्यालयमा जान कतै भनसुन गर्न र मन्त्री, सचिव एवं नेताको ढोकामा पुग्नुपर्ने अवस्था छैन ।’ उनले कुनै कर्मचारी सोर्सको भरमा रोजेको स्थान खोज्छु भनेर बस्छ भने ऊ मन्त्रालयले खटाएको स्थानमा मात्र जानुपर्ने र रोज्न नपाउने बाध्यात्मक अवस्था कार्यविधिले तयार गरेको बताए ।
 
कार्यविधिअनुसार प्रदेश मातहतको संगठन संरचनाअनुसार पहिलो चरणमा प्रशासन र विविध सेवाबाहेकका कर्मचारीलाई प्रदेश मातहतका मन्त्रालयको दरबन्दीअनुसार मन्त्रालयमै पठाइने र मन्त्रालयले व्यवस्थापन गर्नेछन् । लेखा समूहका कर्मचारीलाई प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेश लेखा नियन्त्रण कार्यालयको समन्वयमा व्यवस्थापन गर्नेछ । कार्यविधिले प्रदेशमा कामकाज गरिरहेका र समायोजनमा पनि प्रदेश रोजेकालाई सम्भव भएसम्म काम गरिरहेकै स्थानमा पदस्थापन गर्ने, नभए काजमै भए पनि खटाउने व्यवस्था गरेको छ ।

मन्त्रालयबाट खटिएका कर्मचारी ७ दिनभित्रै कार्यालय हाजिर हुन जानुपर्नेछ । तोकिएको समयमा गए/नगएको सम्बन्धित मन्क्रालयको सचिव र मुख्यमन्त्री कार्यालयले अनुगमन गर्नेछ । कार्यविधिले कर्मचारीलाई अतिरित्त समूहमा राख्न सक्ने पनि व्यवस्था छ । समायोजन भएका वा प्रदेशसभामा कामकाज गर्न मन्त्रालयबाट खटाइएका कुनै पनि सेवा, समूह, श्रेणी वा पदका कर्मचारीलाई आवश्यक परेको अवस्थामा छोटो अवधिका लागि अतिरिक्त रूपमा राख्न सक्ने र त्यस्तो अवधि बढीमा एक महिनामात्र हुनेछ ।

प्रदेश सरकारको स्वीकृत संगठन संरचनाअनुसार प्रदेशमा सबै तह र सेवा समूहमा गरी ३ हजार १ सय ५७ दरबन्दी छ । त्यसमध्ये उपसचिवस्तरमा ३० छन् । शाखा अधिकृत ८० आवश्यक पर्छ । तीमध्ये अहिलेसम्म प्रदेश रोज्ने २ उपसचिव, प्रशासनतर्फका २६ शाखा अधिकृत, १४ लेखापाल र २ लेखा अधिकृत प्रदेशमा हाजिर भएको कर्मचारी व्यवस्थापन शाखा अधिकृत रामचन्द्र अर्यालले बताए ।

शाखा अधिकृत ८० मध्ये १७ अहिले नै कार्यरत छन् । हाजिर भएका २६ जनालाई शुक्रबारदेखि कार्यस्थल पठाइनेछ । बाँकी ३७ को अर्को शुक्रबारबाट पदस्थापन हुने मन्त्रालयले जनाएको छ ।