स्पर्श लघुवित्तको २ लाख ५२ हजार कित्ता आइपीओ बिक्री खुला

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौं : स्पर्श लघुवित्त वित्तीय संस्थाले आइतबार (फागुन २६ गते) देखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।


यस आइपीओमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्तासम्म यो आइपीओ भर्न सक्नेछन् । 
 
स्पर्शले आइपीओ बिक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने भएको छ । यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्ने जनाएको छ । यस लघुवित्तले आइपीओ बिक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउनेछ ।
 
चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्पर्शले ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ४२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण रहेको छ । यस्तै, आगामी आर्थिक वर्षमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाउने योजना बनाएको छ ।
 
यता, प्रतिसेयर आम्दानी यस आवमा १५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८६ पैसा पुग्ने अनुमान गरिएको छ । आव २०७६/७७ मा भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र नेटवर्थ ११४ रुपैयाँ २३ पैसा पुग्नेछ ।