न मेस्सी न रोनाल्डो, यी हुन् विश्वकै धनी फुटबलर

✍ बिप्लब पोख्रेल    2 years ago

 

‘विश्वमा सबैभन्दा धनी फुटबल खेलाडी को होला ?’ – यो प्रश्न तेर्साउने हो भने सबैको उत्तर स्पेनिस क्लब बार्सिलोनामा कप्तान लियोनल मेस्सी वा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो वा पीएसजीका स्टार नेमारको नाम लिनेछन् ।

 


 

 

तर युरोपियन टप लिग खेलिरहेका खेलाडी मध्ये सबैभन्दा धनी फुटबल खेलाडी माथि लिइएका नाम होइनन् ।

अहिले युरोपको टप लिग खेलिरहेका खेलाडीमध्ये धनी खेलाडीको सूचीको शीर्ष स्थानमा लेस्टर सिटीका फैक बोल्किह रहेका छन् । लेस्टरका २० वर्षीय मिडफिल्डर फैक विश्वकै धनी फुटबलर हुन् ।

ब्रुनाईका सुल्तानका भतिजोसमेत रहेका फैकको सम्पत्ति १५ विलियन पाउन्ड रहेको छ । उनी अहिलेका चर्चित मिफिल्डर हुन् । यो रोनाल्डोको दुई सय मिलियन पाउन्ड सम्पत्ति भन्दा धेरै नै बढी हो ।

फैक सन् २०१६ मा लेस्टर सिटीमा अनुबन्ध भएका थिए । लस एन्जलसमा जन्मिएका फैकले सन् २००९ देखि एएफसी न्युबरीबाट फुटबल खेल्न थालेका हुन् । जुनियर क्याम्पमा उनले २००९ देखि २०१३ सम्म चारबर्ष साउह्यामटनमा बिताए । त्यसपछि २०१३ मा उनी आर्सनल एकेडेमीमा पुगे ।

एक वर्ष आर्सनलमा बिताएका फैकको रुची चेल्सीमा गयो । २०१४ र २०१५ को सिजन चेल्सीको युथ टोलीमा बिताएका फैक सन् २०१६ देखि लेस्टरको सिनियर टोलीमा तीन वर्षका लागि अनुबन्ध भएका थिए ।

आफ्नो पोजिसनमा निकै मेहनत गर्ने फैक टिममा घुलमिल हुन र अभ्यासमा रम्न उनी बढी मन पराउँछन् । उनलाई नाइक कम्पनीले प्रायोजन समेत गरेको छ । उनी २०१६ देखि ब्रुनाई राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । सिनियर टोलीमा फैकले ६ खेल खेल्दै एक गोल गरेका छन् । उनले ब्रुनाईका लागि सन् २०१३ देखि २०१५ सम्म उमेर समूहमा यू–१९, यू–२१ र यू–२३ का सबै खेल खेलेका थिए ।

अन्य खेलाडीलाई जस्तो पैसा कमाउनकै लागि खेल्नुपर्ने र मैदानमा उत्तिकै मेहनत गर्नुपर्ने बाध्यता फैकलाई छैन । उनलाई काका प्रिन्स जेफ्री बोल्किहले बेन्टले, फरारी, रोल्स रोयस जस्ता बहुमूल्य र आरामदायी कारको ब्यवस्था गरिदिन्छन् । प्रिन्स जेफ्रीले आफ्नो ५० औँ जन्मदिन मनाउन चर्चित गायक माइकल ज्याक्सनलाई बोलाएर एकल कन्सर्टनै आयोजना गरेका थिए ।

पछिल्लो समय फैकसँग प्रिन्स जेफ्री झनै प्रभावित छन् । उनलाई धन र दौलतको कुनै कमी छैन । त्यसैले प्रिन्सको चाहना पनि भतिजले राम्रो खेलोस् भन्ने छ । फैकले पनि परिवारले आफूलाई राम्रो फुटबलर बनाउन धेरै सहयोग गरेको बताएका छन् ।

उनी भन्छन्–‘मलाई राम्रो खेलाडी बनाउन परिवारले सानैदेखि मलाई शारीरिक र मानसिक रुपमा तयार पार्नु भयो । उहाँहरु मेरो लगि वास्तविक रोल मोडल हुनुहुन्छ । मैले केवल राम्रो खेल्न सके मेरो परिवारका लागि सबैभन्दा ठूलो धन त्यही हो ।’