देशको दुरावस्था, राजनेता कतै भा पो बेपत्ता ?

✍ बिप्लब पोख्रेल    1 month ago


पानी सकिएको खाली गाग्री झैँ,

अर्थहीन हुन थाल्यो देशको अवस्था ।

भ्रष्टाचार तथा कुशासनले घेरिएका नेताझैँ,

छिःछि र दूर दूरको सिनोमा बदलिएको व्यवस्था ।

राजनीति र नेता भनेपछि दुङदुङ गनाउँछ ।

देशमा सुशासन र व्यवस्थापकीय सबलता खै ?

राजनीतिक नारा, घोषणा पत्र कता हरायो ?

जनवादी शिक्षा र स्वास्थ्य सेवाको बाचा कता हरायो ?

कम्युनिष्ट भनिनेको शासनमा जतासुकै,

बिचौलियाको हालीमुहाली सल्बलायो !!!

भनिन्छ, इतिहासकै शक्तिशाली नेकपाको सरकारको देखिएन ठिक चाला ?

यस्तो देश र नेतृत्वको हिसावले देश र जनताको भविष्य खोइ कता जाला ?

गणतान्त्रिक व्यवस्थामा मडारिदै छ चिन्ता ।

आकाशमा कालो बादल, धर्तीमा छ चिराचिरा ।

मनमस्तिष्क सफा छैन, बाक्लो हुन्न माया,

आफ्ना सन्तान हुनेलाई अभिभावकको छायाँ ।

अर्काको सन्तानमा शासकीय के पो हुन्थ्यो माया ?

इतिहासमै अधिक निरीह ,टुहुरा र असुरक्षित जनता,

राजनेता भन्नेहरुको देखिएन है कुनै नैतिकता ?

मानवताको पतन भयो, जताततै लुट तथा भ्रष्टाचार,

अपराधको शासनमा छलकपटी बढ्यो अत्याचार ।।

देशभित्र शान्तिप्रेमी, सदाचारी, भिजनरी नेता देखिएन,

स्वार्थ रहित त्यागी र कर्तव्यनिष्ठ राजनीतिक पार्टी भेटिएन ।।

के देख्न पर्यो, गरीब, निमुखा ,किसान

र श्रमिक वर्गको क्रान्तिले जीवन फेरिएन ।

कलेटी ओठहरु सधैं भोक भोकै चिन्ता रह्यो, गन्तव्य भेटिएन ।

सुप्रीमो कमाण्डर भन्ने त खोटी र गोटी पो रहेछ,

बदलिँदैन उसको नियति सत्ता र शक्ति अन्तिम लक्ष्य रहेछ ।।

निरंकुश भनी फाल्यौ राजतन्त्रलाई,

अपारदर्शी भयो गणतन्त्र जनतालाई ।

सिङ्गापुर बनाउँछु भन्नेले भुटान पनि बिर्से ।

अब जनताहरू उठौँ, लौरी लाउन ढिला भयो गोर्खे ।।