एकहुल बुख्याचाहरु

✍ बिप्लब पोख्रेल    2 months ago


बुख्याचाहरु थुप्रीन्छन् मुन्टा जोतेर अड्डामा 

आलोपालो बखान्छन् पाण्डित्य

अक्कल काट्छन् सिंह दरवार देखि ह्वाइट हाउस सम्म

फुटानी छाँट्छन् लोकल ठर्रा देखि  केन्द्रिय नेताबारे

घरी घडेरी आउँछ एजेन्डामा

छिनमै कोरोनाले ठाँउ पाँउछ

च्वाँक , बिन्दास, लास्टै

बुख्याचाहरु आधुनिक मात्रै होईन अत्याधुनिक छन्

 खाना, नाना र गानामा

सराप्छन् देशलाई , नेतालाई , बा आमालाई पालैपालो 

गर्व गर्छन् लुट्नु , ठग्नु र अपराध गर्नुमा

दृश्य -‘ घ ‘ श्रेणीको घटिया सिनेमा झैं

 वाकवाकी लागेर आउँछ

भाउन्न चल्छ

नेत्र जल्छ

यो क्रम अनवरत चलिरहेछ

डेढ अक्कली माउ बुख्याचा र सन्ततिहरुको राज्यमा।