गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे

✍ Admin    2 years ago


हेटौँडा – दन्त्य कथा जस्तै  लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला उहाँले गाडी बोकेर भिमफेदीबाट थानकोटसम्म पु-याएबापत सुरुमा जम्मा नौ रुपियाँ ज्याला पाउनुहुन्थ्यो । 

काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘त्यसताका सुनको प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’ जीवनभर ७० वटा गाडी बोक्नु भएका वाइबा भन्नुहुन्छ, ‘बल हुनलाई गाडी बोक्न पाउनु राम्रै हो, तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि ।’ त्यसबेला तराई र काठमाडौं जोड्ने मोटरबाटो बनेको थिएन । भीमफेदीसम्म गाडी गुडाएर ल्याउँथे, मोटरबाटो नभएकाले भरिया लगाएर थानकोटसम्म पु-याइन्थ्यो ।

१६ वर्षको उमेरमा गाडी बोक्ने काम थाल्नुभएका वाइबाले ३० वर्षको उमेर पुगेपछि मात्र गाडी चढ्नुभयो । गाडी बोक्ने काम गर्दा नाइकेले  दिएको पैसाले नधानेर घरबाटै सामान बोकेर खानुपर्ने बाध्याता परेको पनि उहाँ यतिखेर सम्झनुहुन्छ । मकवानपुरको थाहा नगरपालिका, ५ स्थित तस्सरका बासिन्दा वाइबाको बाइरोडको बाटो भनिने त्रिभुवन राजपथ निर्माण भएसँगै २००८ सालबाट गाडी बोक्ने काममा पूर्णबिराम लाग्यो । याे समाचार गाेरखापत्रमा प्रकाशित छ ।