दाहाल भरतपुर केन्द्रित

✍ बिप्लब पोख्रेल    2 years ago


चितवन — सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय गृहजिल्ला चितवनमा हरेक महिनाजस्तो भेटिन थालेका छन् । चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी आफ्नो क्षेत्रका धेरैजसो कार्यक्रममा पुग्छन् । भरतपुर महानगर क्षेत्रमा उनको व्यस्तता अन्यत्रभन्दा बढी छ । 

महानगरका २९ मध्ये १९ वटा वडा दाहालको निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् । माडी नगरपालिका पूरै पर्छ । निर्वाचनयता दाहाल माडी दुई पटक मात्रै पुगेका छन् । उनले ल्याउने योजना पनि प्राय: भरतपुर केन्द्रित छन् ।
दाहाल बिहीबार चितवनमा निकै व्यस्त रहे । बिहान पटिहानीमा पत्रकार महिलाहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गरे । लगत्तै कंकाली माविको कार्यक्रममा सरिक भएर भरतपुरको केन्द्रीय बसपार्क शिलान्यासमा भाग लिए । त्यहाँ उनले पाँचवटा आयोजनाको संयुक्त शिलान्यास गरेका थिए । पाँचमध्ये तीन आयोजना उनको निर्वाचन क्षेत्रभित्र छन् । यिनमा २८ करोड ५४ लाख रुपैयाँ खर्च हुँदै छ ।
सबै आयोजना सहरी विकास मन्त्रालयअन्तर्गतका हुन् । दाहालले यसअघि पनि सहरी विकासकै बजेटमा बन्ने भरतपुरको चक्रपथ र लिंकरोड असार २९ गते शिलान्यास गरेका थिए । भरतपुरको पहिटानीमा पहिलो र नारायणगढमा दोस्रो खण्ड शिलान्यास गरिएको थियो ।
मन्त्रालयअन्तर्गत चितवनमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी सृष्टि भुसालका अनुसार पहिलो खण्डको सम्झौता रकम ७७ करोड ८३ लाख र दोस्रो खण्डको ६८ करोड १३ लाख छ । रिङरोडको काम साढे आठ किलोमिटर पूरा गर्ने योजना छ । ५२ किमि लिंकरोड निर्माण हुनेछ । यी सबै योजना दाहालकै निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् ।
भरतपुरका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि अर्बौंका योजना घोषणा गरेको छ । महानगर कार्यालयमा कात्तिक ११ गते भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले घोषणा गरेका १७ वटाभन्दा बढी आयोजनामा अधिकांश भरतपुर केन्द्रित छन् । त्यस बेला घोषणा भएको हुलाकी मार्ग निर्माणले माडीलाई पनि छोएको छ । त्यसैगरी लगभग साढे दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पुलचोक–गोन्द्राङ सडक ६ लेनको बनाउने योजना पूरै भरतपुर महानगरमा परे पनि दाहालको निर्वाचन क्षेत्रमा आंशिक मात्रै पर्छ ।
मन्त्री महासेठले घोषणा गरेको २४ करोड रुपैयाँका १९ वटा सडक निर्माण र सुधारका योजनामध्ये ११ वटा दाहालको निर्वाचन क्षेत्रभित्रका छन् । दाहालको स्वकीय सचिव रहेकी निशा न्यौपानेका अनुसार भूकम्प पुनर्निर्माण प्राधिकरणले चितवन निर्वाचन क्षेत्र नं. ३ का ११ वटा विद्यालयमा सहयोग गरेको छ । यसबाहेक खानेपानी र ढल प्रशोधनका योजना आउने क्रममा रहेको उनले बताइन् ।
चितवनका कार्यक्रममा नेता दाहाल जिल्लालाई विकासको नमुना बनाउने बताउने गर्छन् । यहाँ हुने विकासले देशकै विकासमा प्रभाव पार्ने उनको भनाइ छ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम पनि दाहालकै क्षेत्रमा पर्छ ।
भरतपुरदेखि लगभग सात किमि पश्चिम रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा स्टेडियम बन्ने घोषणा भएको छ । विश्वविद्यालयको सिनेटले स्टेडियमका लागि जग्गा दिन मानेको थिएन । दाहाल नै सक्रिय भएर राजनीतिक सहमति जुटाएका हुन् ।