‘धन्न, काटिन लेखेको रहेनछ !’

✍ बिप्लब पोख्रेल    2 years ago


आठ वर्षअघि साउदी अरबमा एक भारतीय मारिए । त्यहाँको प्रहरीले ११ नेपालीविरूद्ध मुद्दा चलायो । अदालतले उनीहरुलाई निर्दोष प्रमाणित त गर्‍यो तर एक जनाको जेलमै निधन भयो । अरु दस जनाले अनाहकमा आठ वर्ष जेलमा बिताउनुपर्‍यो ।

गोंगबु बसपार्कको आकाशेपुलमाथिबाट धरान–१५ का चक्रबहादुर गुरुङले काठमाडौं सहर नियालिरहेका थिए ।

‘काठमाडौं धूलोको सहर भएछ ।’

पुलमा उभिएर सहर हेरिरहँदा ४२ वर्षीय गुरुङलाई काठमाडौंको धूलोले अत्ताइदियो, ‘साउदी जेलमा रहँदा पनि एक दिन बिरामी भएको थिइनँ । काठमाडौंले एक दिनमै बिरामी बनाइदेलाजस्तो लाग्यो ।’ साउदी अरबबाट १४ वर्षपछि मुलुक फिरेका गुरुङले सहरमा धूलो बढेको मात्र देखेनन्, धेरै कुरा नयाँ पाइरहेका थिए । जस्तो– यही आकाशेपुल उतिबेला थिएन । ‘यो सहर देख्न पाउने भाग्यमा लेखेको रहेछ,’ उनले भने, ‘मेरो दिमाग अझै घुमिरहेको छ । म जेलमै छुजस्तो लागिरहेको छ । बाँचेर मेरो देशमा टेक्न पाउँछुजस्तो लागेकै थिएन ।’
साउदी अरबमा ८ वर्ष जेल बसेर छुटेका गुरुङसहित दस जना अघिल्लो सोमबार राति काठमाडौं आइपुगेका थिए । वर्षौंपछि घाम देख्न पाएका उनीहरू खुला संसार अवलोकन गरिरहेका थिए । धित नमरुन्जेलसम्म सहर नियाल्न चाहेका उनीहरूका आँखामा भने आँसुको तुवाँलो थियो । बिनागल्ती त्यत्रो वर्ष जेलमा बस्नुपरेको पीडाले सताइरहेको थियो उनीहरूलाई ।
जीवन उज्यालो बनाउन कामका लागि साउदी पुगेको बेला अनाहकमा जेलको अँध्यारोमा छिर्न पुगेका अरू नौ जना थिए— तिलकपुर–६, नवलपरासीका ४५ वर्षीय कृष्णबहादुर दमाई, नेपालडाँडा सोमबार बजारे, भोजपुरका श्रीकुमार राई, दुधीटाकापुर–रघनी, ओखलढुंगाका ३० वर्षीय वीरबहादुर बुढाथोकी, डुढामारी–१, झापाका ४२ वर्षीय दीपेन्द्र शेर्मा, विराटनगर–५ का ३२ वर्षीय भीम चिमारिया, जिलिङ–५, नुवाकोटका ६७ वर्षीय रामबहादुर तामाङ, दाउन्ने–९, तनहुँका ३६ वर्षीय केशबहादुर नेपाली, बुटवल–१३, रुपन्द्रेहीका भक्तबहादुर दर्जी र ग्रान्ड–४, रसुवाका सोमबहादुर तामाङ । 
उनीहरू कसैलाई लागेको थिएन– बाँचेर फेरि देश फिरिएला । गम्भीर प्रकृतिको हत्या मुद्दामा जेल परेका थिए उनीहरू । काटिनका लागि काफी थियो मुद्दा । जेलका दिनहरू जति बढ्थे, त्यति उनीहरूको घर फिर्ने आशा कम हुँदै जान्थ्यो । धन्न ! मुद्दा प्रमाणित भएन । व्यर्थै उनीहरू झन्डै ३ हजार दिन जेल बस्नुपर्‍यो मात्र । 
काठमाडौं आइपुगेपछि उनीहरूले परिवारका सदस्यहरूलाई खुसीको खबर सुनाएका थिए । बेखर्ची भएका उनीहरू परिवार तथा आफन्तको पर्खाइमा बसपार्ककै होटलमा बसिरहेका थिए । ‘धरानबाट परिवार हिँडिसकेकी छन् । म फर्केको खुसीले उनीहरू घरसम्म कुर्न सकेनन् । भेट्न काठमाडौं नै आउँदै छन्,’ अघिल्लो मंगलबार दिउँसो चक्रबहादुरले भने, ‘१४ वर्षपछि परिवारसँग भेट्दै छु ।’
ल ल ल 
अहिले यी दस जना परिवारै जस्तो भइसके, तर जेलपर्नुअघि एकअर्काबीच परिचितसम्म थिएनन् । समानता के थियो भने उनीहरू सबै तलब चित्तबुझ्दो नभएपछि कम्पनी छाडेर भागेका थिए । बाहिर बसेर काम गर्थे । उनीहरू सबै फरक–फरक ठाउँबाट पक्राउ परेका थिए । 
श्रीकुमार कोठामा गितार बजाएर बसिरहेका बेला पक्राउ परे, नेपालीले नै दिएको झूटो सुराकीमा । ‘मलाई घरको बनाउने ठेक्का दिन्छौं । भेट्न आइज भनेर फोन गरेको थियो । पछि भेटौंला । अहिले कोठामा बसिरहेको छु भनेको थिएँ,’ उनले भने, ‘देखाउन नेपाली नै आएछ ।’ कृष्णबहादुर र वीरबहादुर कामबाट फर्केर कोठामा जाँदै गरेको बेला पक्राउ परे । भीम र उमेश श्रेष्ठ घर जानका लागि जेद्दा पुगेका बेला पक्राउ परे । 
प्रहरीले पक्राउ गरे पनि घर फिर्न पाइने भयो भनेर दंग थिए रे उनीहरू । ‘तर हत्या मुद्दामा समातेको थाहा पाएपछि सातो उड्यो,’ उनीहरूले सुनाए । ‘भागेका नेपालीलाई छ्याप्छ्याप्ती खोजेरहेको थियो,’ भीमले भने, ‘नेपाली र भारतीयबीच भिडन्त हुँदा एक भारतीयको ज्यान गएको रहेछ । त्यो मुद्दामा छानबिन गर्न हामीलाई पक्राउ गरेको पछि थाहा पायौं ।’
त्यतिखेर साउदी प्रहरीले ३ सय ८५ जनालाई पक्रेर छानबिन थालेको थियो । अरूलाई छाडिदियो तर, उनीहरूविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता गरियो । 
ल ल ल 
प्रहरीले हत्याको कबुल गराउन दिन बिराएर पिट्न थाल्यो । ‘तेरो मर्ने दिन तोकिएको छ । अब यहीं मर्छस्,’ प्रहरीले कुट्दै भन्थ्यो, ‘हत्याको जिम्मेवारी लिए पिटाइ खानु पर्दैन ।’ उनीहरू सबैको एकै खालको जवाफ हुन्थ्यो, ‘हामीलाई केही थाहा छैन ।’ त्यस्तो उत्तर दिँदा झन् बढी यातना पाउँथे । हिरासत के भन्नु, यातनागृह थियो त्यो, जुन उनीहरूको बयानले बताउँथ्यो । भीम सम्झिँदै थिए, ‘दुई खुट्टा र हातमा हत्कडी लगाइएको हुन्थ्यो । खुट्टामाथि टाँगेर बेस्सरी धूलाइ गर्थे । करेन्ट लगाउँथे । बेहोस भएको ६ घण्टापछि मात्रै ब्युँझिन्थेँ ।’
जो कोहीको आङ जिरिंग पार्ने यस्तो विवरण परिवारका लागि झन् पीडादायी हुनु स्वाभाविक हो । भीमले कुटपिटबारे भनिरहँदा काठमाडौं आइपुगेकी कृष्णबहादुरकी पत्नी छेउमा बसेर रोइरहेकी थिइन् । तीन महिनासम्म अनुसन्धानका नाममा कुटपिट गरियो । ‘मलाई २३ दिनसम्म एउटा कालो कोठरीमा लगेर राख्यो । हातखुट्टा बाँधिएर लडाइदिएको थियो,’ भीमले भने, ‘उनीहरू हत्या कबुल गर मात्रै भन्थे । कसरी भन्नु नमारेको कुरालाई मारेको भनेर ?’ 
यातनाकै क्रममा श्रीकुमार राईको कानको जाली नै फुटेछ । ‘सुरुसुरुमा त पिटाइ सहुन्जेलसम्म थेगे । 
पिट्दापिट्दा मेरो ज्यान त फलामजस्तो भइसकेको थियो,’ सोमबहादुरले आफ्ना हात देखाउँदै भने, ‘८ वर्षअघि पिटिएका डामहरू अझै देखिन्छन् ।’
प्रहरीले बयानका लागि पालैपालो लैजान्थ्यो । एकैसाथ पक्राउ परेका साथी–साथीबीच नै भिडाउने गरी बयान लिन्थ्यो । कृष्णलाई प्रहरीले भन्थ्यो, ‘भक्तले भनेको तैले लठ्ठीले हानेको हो रे ।’ अनि फेरि भक्तलाई लिएर जान्थ्यो र भन्थ्यो, ‘कृष्णले भनेको भक्तले लठ्ठीले हानेको थियो ।’ 
अनुसन्धानकै क्रममा झापाका उमेश श्रेष्ठको ज्यान गयो । ‘पिटाइ र तनावले उनी निकै कमजोर भइसकेका थिए,’ उनीसँगै पक्राउ परेको भक्तले भने, ‘अनाहकमा गयो उसको ज्यान ।’ सहन नसक्ने भएपछि उनीहरूले प्रहरीले बनाएको कागजातमा हस्ताक्षर गरे । त्यसपछि पिट्ने काम बन्द भयो । जेल पनि सारियो । तीन महिनापछि उनीहरू सबैलाई एकै ठाउँमा राख्यो । अनि, त्यहीं भयो चिनापरिचय ।
ल ल ल 
उनीहरूलाई जेद्दाको बडेमानको जेलमा राखिएको थियो, तीन तलामाथिको फ्ल्याटमा । ‘बीचमा ठूलो प्यासेज थियो । दायाँबायाँ कोठाहरू । अलि पर हमाम (शौचालय) थियो । कोठाबाट निस्केर जाने भनेको त्यहींसम्म थियो,’ वीरबहादुरले भने, ‘एउटा कोठामा ३० देखि ४० जनासम्म थिए ।’ 
त्यहाँ नेपाली भने उनीहरू मात्रै थिए । भारतीय, पाकिस्तानी, फिलिपिनो, बंगाली र साउदी नागरिक थिए । ‘कोही मान्छे मारेका, कोही चरेस काण्डमा पक्राउ परेकाहरू,’ उनले भने, ‘हाम्रो पनि परिचय हत्यारामै दर्ज थियो ।’
बिहान स्यान्डविच आउँथ्यो, दिउँसो कालो चामलको उसिनेको भात र दाल । बेलुका एउटा मात्रै रोटी । ‘खानेकुरा खोलेजस्तो हुन्थ्यो । जसरी पनि खानैपर्ने । जेलको कोठाबाहिर ल्याएको खाना प्लास्टिकमा थापेर खाने गथ्र्यौं,’ रामबहादुरले सुनाए, ‘सेतो चामलको भात, तेल र मसला हालेको तरकारी त अस्ति (आइतबार राति) दुबईमा खाना पायौं ।’ 
दिउँसो पानी पिउन माग्दासमेत प्रहरीले हकाथ्र्यो उनीहरूलाई, ‘आखिर तिमीहरू मर्ने हो । पानी नखाई मर्दा झन् सजिलो हुन्छ ।’ 
उनीहरूले नेपाली दूतावासलाई खबर पनि गरेका थिए । जेद्दामा त्यतिखेर दूतावास खुलेको थिएन । रियादबाटै हेर्ने गथ्र्याे । पक्राउ परेको १३ महिनापछि रियादबाट उपनियोगप्रमुख हरिश्चन्द्र घिमिरे पुगेर सोधपुछ गरे । ‘उहाँ प्रहरीले जे भन्यो त्यसैलाई ठीक मानेर फर्किनुभएछ । प्रहरीले त्यो झूटो पेपर कसरी तयार बनाएको थियो भन्ने हामीले भनेका पनि थियौं । हामीलाई विश्वास गर्नुभएन । हाम्रो पक्षमा लड्न वकिल राखिदिनुभएन,’ भीमले भने, ‘जतिखेर पनि फोन गर्ने । हाम्रो जीवन होइन भनेर गाली गर्नुभयो ।’ 
‘अनि के हाम्रो जीवनचाहिं भेडाबाख्राको हो ?’ भीम पनि जंगिए, ‘जेलबाट कसरी फोन हुन्थ्यो भन्ने उहाँहरूले बुझ्नुभएन । हामी साउदी नागरिकलाई नुहाइदिएर, ज्यानमा मालिस गरेपछि फोन गर्न पाउँन्थ्यौं । त्यो बुझेनन् ।’ अदालत लगिने अघिल्लो रात मात्रै उनीहरूलाई सूचना दिइन्थ्यो । ‘भोलि बिहान ७ बजे अदालत जानुपर्छ भनेर राति आठ बजे भन्न आइपुग्थ्यो । जतिखेर थाहा पायौं, हामीले त्यतिखेर जानकारी दिने हो,’ चक्रले भने, ‘दूतावासलाई खबर गर्दा उल्टो हामी गलत हुनुपर्दोरहेछ ।’ राजदूतहरूप्रति ठूलो गुनासो गरे उनीहरूले ।
जेल बसेबापत एक जनाले मासिक डेढ सय रियाल भत्ता पाउँथे । त्यसमा पनि ५० रियाल मात्र हात पर्ने । अरू जेलभित्रकै दलालले खाइदिने । त्यही पैसा पनि सबै मिलेर जसको घरमा आपत् परेको छ, उसैकोमा पठाउने गरेका रहेछन् । 
जेलामा कहिलेकाहीं दयालु साउदीले आफन्तले ल्याइदिएका खाना र लगाएका पुराना कपडाहरू दिन्थे । ‘म मरिहाल्छु । बाँचुन्जेल मिलेर खाउँm । आखिर मरेपछि तिमी र म जाने ठाउँ एउटै हो । त्यहीं भेट भइहाल्छ’ भन्थे रे साउदीहरू । ‘घरपरिवारसँग टेलिफोन गर्न पैसा हुँदैन्थ्यो । धनी साउदीले सेटिङ गरेर फोन ल्याएर राखेका हुन्थे । उनीहरूलाई मालिस गरिदिन्थ्यौं । त्यसबापत फोन गर्न दिन्थे । अलिअलि पैसा पनि दिन्थे,’ केशबहादुरले भने । 
ल ल ल 
उनीहरूका अनुसार बिहान उठ्दा नउठ्दै सुतिरहेको ठाउँबाट बाघले बाख्रा लिएर गएझंै च्याप्प समातेर प्रहरीले काट्न लैजान्थ्यो जेलबाट । हरेक हप्ता एक जनालाई त लगेकै हुन्थ्यो । ‘डेढ सयभन्दा बढी प्रहरी आउँथे । सुतिरहेको बेला फुत्ता भित्र छिर्थे । फोटो हेर्थे । जुरुक्क उठाएर लिएर लैजान्थे,’ चक्रबहादुरले भने, ‘हप्तामा बिदाको दिन शुक्रबार र शानिबार मात्रै ढुक्कले सुत्न पाइन्थ्यो ।’ 
दीपेन्द्रलाई कानुनै नभएको देश पुगेजस्तो घरीघरी लागिरह्यो । ‘मान्छेलाई मृत्युदण्ड दिइसकेपछि अदालतको फैसला आइपुग्थ्यो,’ उनले भने, ‘हामीमाथि पनि हत्याको केस छ । यसरी नै प्रहरी आएर कुन दिन लैजाने हो भन्ने मनमा गडेको थियो । हामी त डरैडरमा बाँचिरह्यौं ।’
भक्तबहादुरले त गनेरै राखेका रहेछन्, ‘हाम्रो फ्ल्याटमा बसेका ८४ जना काटिए ।’ 
काटिने भयले श्रीकुमारलाई जीउमा तातो तेल खन्याएर जलेको जस्तो भइरहन्थ्यो । उनले त्यतिबेलाको अनुभूति सुनाए, ‘म सयमा सय यहीं मर्ने होजस्तो लाग्थ्यो । त्यही भएर घरपरिवारसँग धेरै सम्पर्क गर्दैनथें ।’ 
प्रहरी हिँडेको आवाज आउनासाथ चक्र कोठाको कुनामा गएर लुक्थे । चियाएर हेर्थे, ‘आज फेरि कसलाई लिन आयो ?’ उनले सुनाए, ‘प्रहरी आएपछि थरर काम्थें । गएपछि ठूलो राहत हुन्थ्यो । हामी सबै जना एकै ठाउँमा भएर मात्रै मन अलि दर्‍हो भएको हो । नत्र उस्तै भए त पागलै हुन्थ्यौं ।’ त्यहाँ भित्र परेपछि पागल हुनेहरू धेरै थिए । ‘हामी मरेर बाँचेका हौं,’ वीरबहादुरले भने, ‘यसरी बाँचेर नेपाल फिर्न पाइन्छ भनेर एक पल पनि सोचेको थिएनौं । खालि कहिले काटिन जानुपर्ने हो भनेर चिन्ता बढ्थ्यो । यो भाग्यमा धन्न काटिनु लेखेको रैन रैछ ।’ 
ल ल ल 
अदालतमा लैजाँदा दुई जनाको खुट्टा र हातमा हत्कडी लगाइएको हुन्थ्यो । ‘गाडी सुरुङजस्तो हुन्थ्यो । भित्रबाट बाहिर नदेख्ने र बाहिरबाट भित्र नदेख्ने । अदालतमा हुने बहस खास बुझिन्नथ्यो,’ श्रीकुमारले भने, ‘हामीले होइन भन्दा उनीहरूले मान्ने पनि होइन भनेर केही बोलेनौ । बोल्दा थप तलमाथि परिन्छ कि भन्ने ठूलो त्रास थियो ।’ 
उक्त भारतीयको शरीरमा हत्या गर्नेको रगत र ‘फिंगरप्रिन्ट’ रहेछ । ‘प्रहरीले हामी सबैको रगत डीएनए गर्दा र औंलाको फिंगरिङ मिलेन । हामी निर्दोष भन्ने त्यहींबाट प्रमाणित भयो,’ भक्तले भने, ‘अदालतको तल्लो र माथिल्लोका न्यायाधीशबीच नै विवाद भयो ।’ 
अदालतले उनीहरूको सजाय तोकिदियो । तर, कुन मुद्दामा भन्ने खुलाएन । दीपेन्द्र, भीम र श्रीकुमारलाई ५ वर्ष, रामबहादुर र वीरबहादुरलाई ४ वर्ष, केशबहादुर र चक्रबहादुरलाई ३ वर्ष, भक्तबहादुर, सोमबहादुर र कृष्णबहादुरलाई २ वर्ष फैसला सुनाइयो ।
यो फैसला आउँदा उनीहरू जेल बसेको ५ वर्ष भइसकेको थियो । तर पनि छोडिएन । ‘जसलाई जति वर्ष सुनाइए पनि सबै ८ वर्षसम्म बस्नुपर्‍यो,’ भक्तले भने, ‘उल्टो निस्कने बेला प्रहरीले हामीलाई झपार्‍यो । सजाय सकेको यति वर्षसम्म पनि किन भित्र बसेको । तिमीहरूले किन नभनेको ?’ त्यतिबेला प्रहरीले उल्टो भक्तलाई ७० कोर्रा हिर्कायो । ‘मेरो नाममा मुद्दा दर्ता भएको थियो । लिडरको हिसाबले मलाई मात्रै कोर्रा हिर्कायो,’ उनले भने । 
ल ल ल 
नेपाल फिर्नुभन्दा एक महिनाअघि आठै जनालाई नयाँ जेलमा ल्याइएको थियो । जेलबाट छुटाउन जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले गरेको प्रयासप्रति उनीहरू नतमस्तक छन् । ‘रेवतीरमण पौडेल र मनोहर धिताल सर हाम्रा लागि देवदूत बनेर जानुभएछ,’ भक्तबहादुरले भने, ‘उहाँकै कारणले हामी स्वदेश फिर्न पायौं ।’ अघिल्लो आइतबार जेलबाट छुटेर विमानस्थल आइपुग्दा उनीहरूले निकै बेर हर्षको आँसु बगाए । 
काठमाडौं आइपुगेकोमा उनीहरू खुसी छन् । तर उनीहरूसँग केही यस्ता प्रश्न छन्, जसले उनीहरूलाई खुसी भइरहन पनि दिँदैन । ‘उमेश श्रेष्ठको शव कहाँ छ ? हामीलाई अदालतले कुन मुद्दा र के आधारमा सजाय तोकिदियो ? अनाहकमा त्यसरी खाएको पिटाइ र जेलमा बसेको मूल्य कसले तिर्छ ? दूतावासले हाम्रा लागि किन वकिल राखिदिएन ? हाम्रा परिवारले पाएको मानसिक यातनाको क्षतिपूर्ति कसले दिन्छ ? र साउदीसँग हाम्रो देशले हाम्रो विषयलाई लिएर कुरा गर्छ कि त्यत्तिकै छाडिदिन्छ ?’ यी प्रश्नहरूले कतै उत्तर भेट्न सक्लान् कि उसै बिलाइजालान् काठमाडौंको धूलोमा खसेको उही कृष्णकुमारकी पत्नीको आँसुजस्तै ।