प्रधानमन्त्री ओलीले भने, ‘ सरकारले हरेक दिन एक कदम अघि बढ्ने काम गरिरहेको छ’

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक दिन एक कदम अघि बढ्ने गरी काम गरिरहेको बताएका छन् । चीन सरकारको सहयोगमा  निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

उनले तीव्र विकासका लागि अवरोधको रूपमा रहेका ऐन,कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको समेत बताए।
‘तीव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस्। आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरू हटाउँला’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यकहुने बताए। समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लागि छिमेकी देशहरूबाट बहुआयामिक रूपमा सहयोग लिनु परेको उनले उल्लेख गरेका छन्। ‘नेपाल विकास र उन्नतिका लागि चीनले उदार र फराकिलो मनसायका साथ सहयोग गरेको छ। यसको म प्रशंसा गर्न चाहन्छु’ उनलेभनेका छन्।

उनले नेपाल चीन सम्बन्ध मानवीय मात्र नभएर प्राकृतिक रूपले पनि नजिक रहेको स्पष्ट पारेका छन्। ‘हाम्रो सम्बन्ध प्राचिनकालदेखिको हो। प्राकृतिक रूपमा हो। सांस्कृतिक रूपमा पनि हो’ प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा नेपालका लागि चिनिया राजदूत हु यांकीले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेकी थिइन्।