मनाङेले लिए शपथ

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ — निर्वाचित भएको करिब एक वर्षपछि दीपक मनाङे भनिने राजीव गुरुङले गण्डकी प्रदेशसभा सदस्यको रुपमा सोमबार शपथ लिएका छन् । मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित गुरुङलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवालयमा शपथ खुवाए । 

शपथ लिएपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गुरुङले ढिलो भएपनि शपथ लिन पाएको बताए । उनले जुन उद्देश्य र कामले प्रदेशसभामा आएको त्यो पुरा गर्ने बताए । उनले नेकपाको प्रदेश सरकारले राम्रो काम गर्ने बेलासम्म सहयोग गर्ने बताए ।
‘अहिल्यै कुनै पार्टीमा प्रवेश गर्ने सोचाई छैन’, उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रम जलविद्युत, सडक र शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।’ जेल जान र निर्वाचित भएर संसद जाँदाको अनुभव कस्तो रह्यो भन्ने संचारकर्मीको प्रश्नमा उनले आफू जेललाई घर बनाउन सक्ने व्यक्ति भएको बताए । उनले जेल नबुझेको मान्छेले नेपाल बुझ्न पनि नसक्ने बताए ।
सभामुख अधिकारीले भने निर्वाचित भएको प्रमाणपत्र लिएर आएको आधारमा शपथ खुवाईएको प्रतिक्रियाबाहेक अरु बोल्न चाहेनन् । शपथग्रहण कार्यक्रममा उपसभामुख श्रृजना शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत, नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, सांसद कृष्णबहादुर थापालगायतको उपस्थिति थियो । विपक्षी दलका कोही पनि सांसद थिएनन् ।
अदालतमा मुद्धा पुनरावलोकनको अवस्थामा रहेको र प्रदेशसभा निर्वाचन ऐन २०७४ को कारण देखाउँदै गुरुङलाई तत्काल शपथ खुवाउने पक्षमा सभामुख थिएनन् । शपथ नखुवाउने खबर थाहा पाएलगत्तै पोखरा आएका गुरुङले आफुलाई शपथ खुवाउन कुनै पनि कानुनले रोकतोक नलगाएको भन्दै सभामुखलगायतसँगको भेटमा ‘दमदार’ कानुनी ब्याख्या गरेका थिए । विशेष गरी संघीय संसदमा रेशम चौधरीको शपथका कारण उनलाई बल मिलेको, राजनीतिक हिसावले पनि केही ‘पेलान’ मा परेपछि सभामुख अधिकारी उतिबेलै शपथ खुवाउने निर्णयमा पुगेका थिए ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको पुस २२ को बैठकमा सभामुखले तत्काल शपथ नखुवाउने भनेका थिए । गुरुङले संघीय संसदमा जेलमा परेको मान्छेले शपथ खान हुने । कुनै ठूलो अपराधमा संलग्न नभएको र जेलमुक्तसमेत भइसकेको व्यक्तिलाई नखुवाउने भन्दै प्रस्तुत भएका थिए । आफू समानुपातिक नभई प्रत्यक्ष निर्वाचितको प्रमाणपत्र भएको सदस्य भएकाले शपथलाई रोक्न नमिल्ने जिकिर गुरुङले गर्दै आएका थिए ।
शपथ खुवाउन हुने नहुने विषयमा अधिकारीले सरोकारवालासमक्ष सुझाव लिएका थिए । त्यसक्रममा कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिका सांसदहरूले शपथ खुवाउन नहुने बताएका थिए । सोमबार शपथ खुवाउनु अघि पनि उनले सबै पार्टीसँग छलफल गरेका थिए । सत्तासीन नेकपाबाहेक अरु तीन पार्टीले भने असहमति जनाएका थिए । ‘हामीले कानुनसम्मत् ढंगले जानुस् । आफ्नो राजनीतिक क्यारियरमा दाग नलागोस् भनेर सुझाव दिएका थियौ’ कांग्रेसका सचेतक मणीभद्र शर्माले भने, ‘सबै अधिकार सभामुखमै रहेकाले उहाँकै निर्णय अन्तिम हुन्छ ।’
सर्वोच्चको आदेशबाट जेलमुक्त भएलगत्तै पुस १२ मा गुरुङले शपथ गराई पाऊँ भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । सर्वोच्चको आदेशबाट गुरुङ पुस ६ मा जेलमुक्त भएका थिए । गुरुङ दोषी र निर्दोष केही पनि ठहर भएका छैनन ।
ज्यान मार्ने उद्योगमा उनलाई जिल्ला अदालतले दुई वर्ष, पुनरावेदन (हाल उच्च) अदालत पाटनले ५ वर्ष जेल सजायको फैसला गरेका थिए । अरु मुद्धा नभए जेलबाहिरबाटै मुद्धा लड्न पाउने सर्वोच्चको आदेशपछि उनी जेलबाट छुटेका हुन । निर्वाचित भएर शपथ लिने बेलामा ज्यान मार्ने उद्योग अन्तर्गत खोजी गरिएपछि लुक्दै आएका उनलाई गत वैशाखमा पक्रेर जेल चलान गरिएको थियो ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल