वर्षाको गुनासो- ‘नयाँ निर्माताबाट पारिश्रमिक उठाउनै गाह्रो’

✍ बिप्लब पोख्रेल    2 years ago


बरिष्ठ अभिनेता राजाराम पौडेलले अहिलेका सर्वाधिक महँगा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट पारिश्रमिक नपाएको र अरुबाट आफ्नो डबिङ गराए मुद्धा हाल्ने बताएपछि अहिले पारिश्रमिक नपाएका धेरै पीडित कलाकार तथा प्राविधिकहरुले पनि निर्धक्क आफ्नो कुरा राख्न थालेका छन् । केही दिन अगाडि ‘रोज’ का कलाकारले पारिश्रमिक नपाएको गुनासो पोखेका थिए ।  चलेका कलाकारलाई नै निर्माताबाट पारिश्रमिक उठाउन सकस भइरहेको अवस्थामा नव-आगन्तुक कलाकार त झन् कति पीडित होलान् ? अनुमान गर्नपनि गाह्रो पर्छ । फिल्म निर्माण अगाडि ठूला सपना देख्ने फिल्ममेकर्स फिल्म रिलिजको संघारमा हुँदा र रिलिज भइसकेपछि रगत-पसिना चुहाएका कलाकार तथा प्राविधिकको पारिश्रमिक दिन सक्दैनन् । कति निर्माता त सम्पर्कविहीन नै हुन्छन् ।  गएको हप्ता ‘रोज’ का अभिनेता प्रदीप खड्काले १० लाख पारिश्रमिक अझै पाउन बाँकी रहेको र निर्माताले नदिए मुद्धा हाल्ने बताएपछि अहिले धेरै कलाकारहरु निर्माताले पारिश्रमिक नदिएको गुनासो बोकेर मिडियाकहाँ पुग्न थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले पनि प्रदर्शनको पखाईमा रहेको फिल्म ‘पुरानो बुलेट’ बाट आधा पारिश्रमिक अझै नपाएको बताएकी छन् । 

‘सुटिङ सकियो, डबिङ सकियो अब प्रचारको बेला सुरु हुन लागेको छ तर सम्झौता भएको आधा रकम अझै पाएको छैन’, फिल्मीखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘शनिबार टिमबाट फोटोसुटका लागि बोलाउनुभएको थियो । मैले पारिश्रमिक नपाएसम्म अब केही नगर्ने भनेको छु ।’ बाँकी पारिश्रमिक नपाएसम्म न प्रचार न त फिल्मको कुनै काम गर्ने उनले बताइन् ।  हाल ‘वीरविक्रम २’ को छायांकनमा व्यस्त उनी नयाँ फिल्ममेकर्समा यस्तो समस्या देखिने गरेको बताउँछन् । यसअघि फिल्म ‘जय शम्भु’ मा पनि आफ्नो पारिश्रमिक पाउन टिमलाई डबिङ नगर्ने र प्रचारमा नहिँड्ने भनेपछि बल्लतल्ल पारिश्रमिक पाएको उनी सम्झन्छिन् । नयाँ टिमसँग काम गर्दा आफूले धेरैपटक यस्तो समस्या ‘फेस’ गर्नु परेको उनले सुनाइन् ।  ‘पुराना मेकर्ससँग काम गर्दा पारिश्रमिक पाउन खासै गाह्रो हुँदैन । उहाँहरुले कलाकारको मर्म बुझ्नुहुन्छ । तर, नयाँ मेकर्सबाट चाहिँ पारिश्रमिक उठाउन साह्रै गाह्रो हुन्छ । आफ्नो पारिश्रमिक उठाउन रोइकराइ गर्नुपर्छु’, उनी भन्छिन् । नयाँ निर्माताहरु फिल्मको घोषणा धुमधामले गर्ने तर रिलिजको बेला भएपछि पैसा नहुने र सबैभन्दा अप्ठ्यारो कलाकारलाई पर्ने उनको बुझाइ छ । ‘पुरानो बुलेट’ निर्देशक भिषण राई भने केही दिनमा वर्षालाई पारिश्रमिक उपलब्ध गराउने बताए । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, ‘पारिश्रमिक नदिने भन्ने त हुँदै हुँदैन । उहाँ अहिले ‘वीरविक्रम २’ को सुटिङका लागि मुस्ताङमा हुनुहुँदो रहेछ । उहाँ काठमाडौं पाएपछि पारिश्रमिक दिनेछौं ।’ वर्षाले आधा पारिश्रमिक भने बुझिसकेकी छन् ।  यहाँ राजाराम, प्रदीप, वर्षाजस्ता धेरै कलाकार र प्राविधिकहरु छन्, जसलाई आफ्नो मेहनतको पैसा उठाउन निर्मातासँग ठूलै रस्साकस्सी गर्नुपर्छ । निर्माणको बेला निर्माताहरु कलाकारले मागे जति पारिश्रमिक दिन राजी हुन्छन् तर जब छायांकन सकिन्छ र खल्ती रित्तिन्छ तब निर्माताबाट आफ्नो पारिश्रमिक उठाउन कलाकारलाई ठूलै संघर्ष गर्नुपर्ने हुन्छ । 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल