दलितभित्रै छुवाछुत – जातैपिच्छे कुवा

✍ बिप्लब पोख्रेल    2 years ago


ओलानी (कैलाली) — गोदावरी नगरपालिकाको ओलानी क्षेत्रका शङ्कर नेपाली (दमाई) को घरमा वैवाहिक कार्यक्रम थियो । त्यही क्रममा पानी अभाव भएपछि शंकरले नजिकैको इनारबाट पानी भर्न खोजे । तर तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विश्वकर्मा थरका केही व्यक्तिले हातपात गरे । ओलानी क्षेत्रमा पर्ने १०, ११ र १२ वडाको कुनै न कुनै टोल/बस्तीमा अर्को जातिले कुवाबाट पानी झिकेको विषयमा दिनहुँ झगडा भइरहन्छन् ।

यी तीन वडामा सुदूरका पहाडी जिल्लाबाट बसाइसराइ गरी आएकामध्ये दलित समुदायको बाहुल्यता छ । ‘गैर दलित र दलितबीच त विभेद छँदैछ, दलित/दलित बिचको जातीय विभेदको खाडलसमेत पुर्न सकिएको छैन,’ वडा ११ का अध्यक्ष शिबहादुर विक भन्छन् । उनकाअनुसार ११ नम्बर वडाको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घरधुरी छन् । यो बस्तीका बिक र दमाई जातीले खानेपानीका लागि फरक फरक कुवाको प्रयोग गर्छन् । दमाईले विकको इनार र विकले दमाईको इनारमा पानी भर्दैनन् । विकले आफूलाई दमाईभन्दा माथिल्लो जातिको ठान्छन् र उनीहरूलाई आफ्नो इनार प्रयोग गर्न दिँदैनन् ।
दलितभित्रकै बिक, सुनार, कामी थर भएकाहरूले दमाई, आउँजी, ढोली, नेपाली, सार्कीलाई अछुत मान्ने संस्कार छ । दलितभित्रै सुनार, कामी र विकको अन्य जातिका दलितसँग बिहेवारि चल्दैन । एउटै गाउँको भोजभतेरमा सहभागिता हुँदैन ।
‘संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनेको छ’ वडा सदस्य विमला सेरालाले भनिन, ‘एउटै बस्तीमा बस्ने भएकाले घटना किन लम्ब्याउनु भनेर समाजमा सद्भाव कायम गर्न छुवाछुतको विषयमा भइरहने झगडाहरू गाउँमै मिलाउने गरेका छौ ।’ दलित–दलित भित्रकै छुवाछुतले जातीय विभेद अन्त्य गर्न थप चुनौती बनेको अध्यक्ष विकको भनाइ छ । उनले दलित/दलित भित्र उचनीचको भावना अन्त्य गर्न सके मात्रै दलित र गैर दलितबीचको जातीय विभेद हटाउन सकिने बताए ।
चुरे फेदीको ओलानी क्षेत्रमा पानीको सङ्कट छ । पछिल्लो समय केही खानेपानी योजना बने पनि सबैको पहुँचमा छैन । अझै धेरै घरपरिवार कुवाको पानी पिउन बाध्य छन् । साबिकको गोदावरी गाविसले छुवाछुतको विषयमा हुने झैँ झगडा कम गर्न जाति अनुसारका कुवा नै निर्माण गरेको स्थानीय चन्द्रसिंह कामीले बताए । तत्कालीन गाविस कार्यालयमा दुई दशक काम गरेका वडा ११ का प्राविधिक कामी भन्छन्, ‘जातीय छुवाछुतको मूल जड कुवा हो ।’ उनका अनुसार २०५८ सालसम्म तत्कालीन गाविस कार्यालयले नै जातीय कुवा निर्माणमा बजेट छुट्ट्याउने गरेको थियो ।
पछिल्लो समयमा दलित आन्दोलनले सार्वजनिक कुवा सबैलाई खुला गरेपछि निजी कुवा निर्माण गर्न सुरु गरिएको उनले बताए । ‘पानी चल्ने समुदायले निजी लगानीमा छुट्टै कुवा बनाउन थाले’ चन्द्रसिंहले भने, ‘आफ्नो निजी लगानीको कुवामा अर्कोलाई निषेध गरे ।’ अहिले पनि घरअगाडि खनेको निजी कुवामा आफ्नो जात खोलेर मात्रै पानी पिउन पाउने गरेको उनी बताउँछन् । उनले भने, ‘सरासर गएर कसैले निजी कुवाको पानी तान्न सक्दैनन् ।’
कुवा प्रयोगमा सार्वजनिक रूपमै हुने जातीय विभेद अन्त्य गर्न वडा कार्यालयले जनचेतनाका लागि गाउँभरि जातीय छुवाछुत तथा कसुर सजायसम्बन्धी ऐन वितरण गरेको वडाध्यक्ष विकले बताए । उनले यो ऐन १ हजारप्रति छापेर वडाका सबै ९ सय ९२ घरधुरीमा वितरण गरिएको पनि जानकारी दिए ।