गैरकानुनी धनको सरकारले तत्काल छानबिन गरोस् : थापा

✍ बिप्लब पोख्रेल    2 years ago


हेटौडा — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशबाट अवैध रूपमा भित्र्याइएको कालो धनको तत्काल छानबिन हुनुपर्ने बताएका छन् ।

हेटौंडामा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सञ्चारमाध्यममा आएको कुराहरूलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए । मुलुकमा भ्रष्टाचार र ब्रम्हलुट बढिरहेको भन्दै ठुला काण्डहरू उजागर भएकाले सरकारले यो विषयमा ध्यान दिनुपर्ने उनको जिकिर थियो ।
कालो धन विदेशमा राख्ने र फर्जी कम्पनी खोली सेतो बनाएर भित्र्याउने आशंका भएका सबैको बैङ्क खाता रोक्नुपर्ने थापाको तर्क थियो । उनले सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै अख्तियारले पनि ध्यान दिनुपर्ने बताए ।
थापाले निर्मला पन्तको हत्याकाण्डमा सरकारको कार्यक्षमता र विश्वसनीयता प्रति प्रश्न उठेको जिकिर गरे । हेटौंडालाई प्रदेशको राजधानी बनाउने कुरामा सबै राजनीतिक दल सहमत हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
देशव्यापी रूपमा सञ्चालन भएको घरदैलो अभियानमा गृह जिल्ला मकवानपुरबाट नेता थापाले सनातन धर्ममाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको बताए । उनले भने,‘ लोभ, लालच र भ्रम सिर्जना गरेर लाखौँमा धर्म परिर्वतन भइरहेको छ ।’
‘हिन्दु, बौद्ध र किराँत धर्मको संरक्षणको लागि धार्मिक समानता, स्वतन्त्रता नेपाललाई हिन्दुराष्ट्रको माग राप्रपाले गर्दै आएको छ’ उनले भने, पार्टीले आगामी फागुन ७ गतेबाट जनसंघर्ष गर्ने निर्णयको तयारी स्वरूप अहिलेको घरदैलो र जनजागरण अभियान सञ्चालन गरेको हो ।’
बाजागाजा सहित सुरु भएको घरदैलो कार्यक्रम हेटौंडाको पुष्पलाल पार्कबाट सुरु भई शितलमहल चोक हुँदै बुद्ध चोक सम्म पुगेको थियो ।