जथाभावी सडक खन्दा खेत बाँझै

✍ बिप्लब पोख्रेल    2 years ago


सुर्खेत — सडक निर्माण क्रममा परम्परागत सिँचाइ कुलो भत्किंँदा पचालझरना ४ राम्नाकोट मर्मस्थित २५ परिवारको धान फल्ने खेत तीन वर्षदेखि बाँझै छ । प्रतिपरिवारले दुईदेखि १२ मुरी धान फलाउने खेत बाँझो हुँदा बाहिरबाट ल्याएको चामलको भर पर्नुपर्छ ।

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) ले राम्नाकोटको जार्रकोट (कालढुंगा पाँच किमि सडक निर्माण क्रममा सिँचाइ कुलो भत्कएपछि तीन वर्षदेखि जमिन बाँझै छ । केही ठाउँमा पाइप हालेर कृषकले गहुँ छरेका छन् । ‘धानफल्न्या खेत बाझैरह्यो,’ स्थानीय एकुमाया सेजुवालले स्थानीय लवजमा भनिन्, ‘सडकमा काम त पाइयो, घरको माम (स्थानीय चामलको भात) छुट्यो ।’ उनको धान खेतमा बर्सेनि १२ बोरा धान फल्थ्यो ।
ग्रामीण पहुँच कार्यक्रमबाट निर्माण भएको सडकको कारण लुर्वाम जिउलोको धान खेत पनि बाँझै राख्न बाध्य भएको पचालझरना गाउँपालिका अध्यक्ष खडराज सेजुवालले बताए । उनले सडकको काम अन्तिम अवस्थामा पुर्‍याएकाले र्‍याप ३ ले हस्तान्तरण गर्ने भने पनि आफूले अनुगमन गरेर सडकले पुर्‍याएको क्षतिपूर्ति गर्न कार्यक्रमलाई सुझाएको जनाए ।
र्‍याप ३ ले निर्माण गरेको सडकमा डोजर चालक नै इन्जिनियर बनेर खनेका थिए । अधिकांश ग्रामीण सडकले स्थानीयका खेतीयोग्य जमिनमा पुग्ने सिँचाइ कुलो, पधेँरो नष्ट गरेको छ । गत वर्षमात्र कालीकोटका ९ वटा स्थानीय तहले २७ वटा डोजर जिल्लामा भित्र्याएर सडक खन्ने काम गरेका थिए ।
पचालझरना गाउँपालिकाको १ सिकु डौठे–घट्टेगाड खण्डले क्षति पुर्‍याएको घाटपारी ज्यूलाको सिँचाइ कुलो अझै सुचारु हुन नसकेको स्थानीय जन्मदेव न्यौपानेले बताए । ‘गाउँपालिकाले सडक खन्यो, सिँचाइ कुलोको वास्ता गरेन,’ न्यौपानेले भने, ‘हामी मर्कामा पर्‍यौं ।’ उनले समयमा खेतमा पानी लैजान नपाउँदा उत्पादन पनि घटेको सुनाए ।
पचालझरना गाउँपालिका अध्यक्ष खडराज सेजुवालले र्‍याप ३ ले निर्माण गरेको सडकमा दुई गाउँको जमिन तीन वर्षसम्म बाँझै रहे पनि यतिबेला स्थानीय सरकारको पहलमा अस्थायी रूपमा गाउँमा पानी पुर्‍याइएकोदाबी गरे ।
जाजरकोटमा पछिल्लो समय स्थानीय तहले जथाभावी सडक निर्माणको काम गरेपछि आधा दर्जन स्थानका सिँचाइ कुलो पुरिएका छन् । सडकका कारण सिँचाइ सुबिधा नभएपछि जिल्लाको करिब ६ सय रोपनी खेत बाँझै बनेको हो ।
गत वर्ष नलगाड नगरपालिका ८ कायाखेत–जिकुवा–हलचौर कृषि सडक खन्दा कुलो भत्किएपछि कायाखेत जिउलो बाँझो रहेको वडाध्यक्ष गोविन्द शाहीले बताए । उक्त सडकले कायाखेत कुलो भत्काएपछि दुई सय रोपनीमा धान खेती हुन छाडेको छ । उनका अनुसार उक्त खेत रोप्न नपाइ विगत एक वर्षदेखि बाँझै छ । ‘अन्दाधुन्ध खनेको सडकका कारण माथिबाट आएको पहिरोले खेत र कुलो दुबै पुरेको छ,’ उनले भने, ‘सडक खन्दा खसेको पहिरोको कारण बस्ती पनि जोखिममा परेको छ ।’
त्यस्तै जाजरकोट–जुम्ला सडकका कारण कुशे गाउँपालिका ८, बगर र पानीखेत पनि सिँचाइविहीन बनेको छ । सडकले कुलो भत्किएपछि एक सय रोपनीको उक्त खेत सिँचाइविहीन बनेको हो । अन्दाधुन्ध सडक खन्दा कुशे ५, जहरगाउँ सिँचाइ कुलो पनि भत्किएको छ । जसका कारण जहरगाउँको एक सय रोपनी खेत बाँझो बनेको छ । खेतमा पानी लगाउने उपाय नहुँदाखेती गर्न नपाएको स्थानीय दलबहादुर थापाले बताए ।
सडक खन्ने क्रममा कुलो भत्काएपछि भेरी नगरपालिका, शिवालय गाउँपालिका, छेडागाड नगरपालिकालगायत स्थानीय तहमा पनि आधा दर्जन स्थानमा खेत बाँझिएका छन् । जाजरकोटमा स्थानीय तह तथा अन्य निकायले डिपीआरबिना सडक संरचना निर्माण गर्दा जमिन बाँझो हुने, भूक्षय हुने, वनजंगल विनाश हुने, बस्ती पहिरोको जोखिममा पर्ने, पानीका मुहान सुक्नेलगायत वातावरणीय समस्या आउन थालेका छन् ।
हुम्ला बर्सेनि ६ क्विन्टल धान उत्पादन गर्दै आएका सिमकोट गाउँपालिका ७ धारापोरीका नरबहादुर शाहीलाई आजभोलि चामलका लागि नेपाल खाद्य संस्थानको गोदामको भर पर्नुपर्ने बाध्यता छ । धान उत्पादन हुने खेतका लागि निर्माण गरिएको कुलो सडक निर्माण गर्दा खसेको माटाले पुरेपछि सिँचाइ नहुँदा धानको साटो आलु लगाउने गरेको उनले जनाए ।
शाहीका अनुसार धारापोरी गाउँमा ६० घरधुरी छन् । कर्णाली नदीको किनारामा रहेको धान खेती हुने ज्युलामा दुई/चार परिवारबाहेक प्राय: सबैको जमिन छ । जमिन हुनेले एकदेखि ६ क्विन्टल धान उत्पादन गर्ने गरेका थिए । कुलो भत्केर पानी आउन छोडेपछि अहिले धान खेत बगरबनेका छन् ।
परम्परादेखि कुलो खनेर खोलाबाट पानी ल्याएर धान खेती गर्दै आएको ज्युलामा केही वर्ष पहिले सिँचाइ डिभिजन कार्यालय जुम्लाले एक करोड लगानीमा ठेक्काबाट पक्की कुलो निर्माण गरेको थियो । निर्माण सम्पन्न हुनै लाग्दा कुलोको ठीक माथिबाट कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमकोट खण्ड सडक निर्माण गरेपछि सडक खन्दा आएको ढुंगा र माटाले कुलो पुरेको हो ।
पानीका मुहान पुरिए सल्यानमा जथाभावी सडक निर्माण गर्ने क्रममा सिँचाइ कुलो पुरिँदा चार हजार हेक्टर खेतीयोग्य जग्गा पाखो बारीमा परिनत भएको छ । सडक जथाभावी सन्दा खानेपानीका मुहान पनि पुरिएपछि जिल्लाका १० स्थानीय तहका पाँच हजार परिवार प्रभावित भएका छन् ।
पानीका मुहान तथा सिँचाइ कुलोलाई ध्यान नदिई जनप्रतिनिधिले सडकलाई मात्र महत्त्व दिँदा डोजर चालकले अव्यवस्थित रूपमा सडक खनेको स्थानीयको गुनासो छ । ढुंगामाटो मनपरी फालेकाले र प्राविधिकको सल्लाहबिनै सडक खन्ने गरेकाले सिँचाइ कुलो पुरिनुका साथै पानीका मुहान सुक्दै गएका हुन् ।
जिल्लाका कालीमाटी गाउँपालिकाको टाटके, घरचौर, सुकेतालमा तीन किलोमिटर लामो पक्की तथा कच्ची सिँचाइ कुलो पुरिँदा यसबाट ५ सय हेक्टर खेतीयोग्य जग्गा पाखामा परिनत भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार दुई दर्जन बढी पानीका मुहान सुकेका छन् ।
तीन बाली लगाउने खेतमा अहिले दुई बाली लगाउन मुस्किल भएको किसानको गुनासो छ । उनका अनुसार सिँचाइ कुलो अभावमा ५० प्रतिशत उत्पादनमा कमी आउने देखिएको छ । ठेकेदार कम्पनी तथा डोजर चालकले मनपरी गरेकाले सिँचाइ कुलो पुरिनुका साथै मुहान सुक्दै गएका उनको भनाइ छ ।
जथाभावी खनिएका सडकका कारण सिद्धकुमाख गाउँपालिकाको बाँझकाडा , डाँडाकटेरी, झारकाँडामा चार किलोमिटर भन्दा बढी सिँचाइ कुलो पुरिएको र दर्जन पानीका मुहान पत्तालिएको अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।
यसबाट तीन हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ नहुँदा तीन सय परिवारलाई खेतीपाती गर्न कठिनाइ भएको उनले जानकारी दिए । पुरिएको सिँचाइ कुलो मर्मत नहुँदा धेरै किसान मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जान बाध्य भएको उनी बताउँछन् । त्रिवेणी गाउँपालिकामा सडकले गर्दा ५ किलोमिटर सिँचाइ कुलो पुरिएको र १० वटा पानीका मुहान सुकेको अध्यक्ष मानबहादुर डाँगीले बताए ।