घलेम्दीको आईपिओ बाँडफाँड, ८०% प्रतिशतले पाए ३० कित्ता

✍ बिप्लब पोख्रेल    2 years ago


 काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ मंगलबारे बाँडफाँट भएको छ । यो आइपीओ रितपूर्वक आवेदन दिएका ५४ हजार ६९२ जना आवेदकलाई बाँडफाँट गरिएको छ । यसमध्ये १० हजार ६९९ जनाले २० कित्ता र ४३ हजार ९९३ जना अवेदकले ३० कित्ताका दरले सेयर पाएका छन् ।  कम्पनीले पुस १९ गतेदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । कम्पनीले आर्थिक बर्ष २०७७। ७८ बाट लाभांश दिने सकिने जनाएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६।७७ मा ८५ रुपैयाँ ९० पैसा र आव २०७७।७८ मा ९६ रुपैयाँ ५२ पैसा हुने प्रक्षेपण छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७७।७८ मा ६ रुपैयाँ ७४ पैसा पुग्ने प्रक्षेपण छ । ५५ करोड रुपैयाँ जारी पुँजी रहेको आयोजनामा संस्थापकको ३८ करोड ५० लाख (७०%) लगानी रहेको छ । यसमा स्थानीय बासिन्दा र सर्वसाधारणको गरी १६ करोड ५० लाख (३०%) रुपैयाँ लगानी रहनेछ । ५ मेगावाटको यो आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । ९०% बढी पूर्वाधार निर्माणको काम सकेको यस आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ ।