ला लिगा : एइबारमाथि बार्सिलोनाको शानदार जित, एउटै लिगमा मेस्सीले ४०० गोल

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडाैं । स्पेनिस ला लिगा अन्तरगत आफ्नो १९औं खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एइबारमाथि ३–० को शानदार जित निकालेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्को दुई गोल लुइस स्वारेजले गोल गरे भने एक गोल लियोनल मेस्सीले गरे ।

याे गाेलसँगै बार्सिलोनाको कप्तान समेत रहेको स्टार स्ट्राइकर मेस्सीले स्पेनिस ला लिगा फुटबलमा आफ्नो ४३५ खेलमा ४०० गोल पूरा गरेका छन् । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । मेस्सी ला लिगको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

१९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । फिलिपे कौटिन्होको पासलाई सदुपयोग गर्दै स्वारेजले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।

५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले लुइस स्वारेजको पासमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । ५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले लेभान्टेलाई १–० ले पराजित गरेको थियो ।