गलत तथ्यांक प्रस्तुत गरेर प्रधानमन्त्रीले जनतालाई गुमराहमा राखेको नेपाली काँग्रेसको आरोप

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं, २९ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्रीले नै गलत तथ्यांक प्रस्तुत गरेर मुलुकको आर्थिक अवस्थाबारे नागरिकलाई गुमराहमा राखेको आरोप लगाएको छ ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्ने सांसद डा. मीनेन्द्र रिजालले केही दिन अगाडि प्रधानमन्त्रीले संसदमा सम्बोधनका क्रममा प्रस्तुत गरेका सबै जानकारी र तथ्यांक गलत रहेको दावी गर्नुभएको हो । ‘प्रधानमन्त्रीलाई नै गलत तथ्यांक दिइएको हो वा उहाँले नागरिकलाई गुमराहमा राख्न गलत तथ्यांकको सहारा लिएको हो ?’ भन्ने प्रश्न गर्दै रिजालले सरकार सेवा प्रवाह चुस्त–दुरुस्त बनाउन, शान्ति–सुरक्षा कायम गर्न र आर्थिक परिसूचक सकारात्मक बनाउन असफल भएको दावी गर्नुभयो । 

नागरिकको आर्थिक अवस्था अनुसार नै सेवा–सुविधा दिनुपर्नेमा सरकारले राष्ट्रपतिको सेवा–सुविधा बढाएर नयाँ दरबार बनाउन खोजेको सांसद रिजालको आरोप थियो । यसअघि शून्य समयमा सीतादेवी यादव र ज्ञानेन्द्र बहादुर कार्कीले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न, विनाकुमारी श्रेष्ठ र शशी श्रेष्ठले संसद सचिवालयको खाता सरकारी बाणिज्य बैकमार्फत सञ्चालन गर्न, लालकाजी गुरुङले बजेट विनियोजमा समानुपातिक सांसदलाई विभेद नगर्न ध्यानाकर्षण गराउनु भएको थियो ।

यसैगरी, विन्दा पाण्डेले कानूनत दण्डनीय छाउपडी प्रथा अन्त्यका लागि सरकारले गरेका प्रयासबारे सदनलाई जानकारी गराउन, शान्तिमाया तामाङले दोलखाको कालिञ्चोक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण रोक्न र हरिराज अधिकारीले सांसदका लागि आवास बनाउने भनिएको ठाउँमा मन्त्री क्वाटर बनाउने निर्णय सच्याउन सरकारसँग माग गर्नु भएको थियो ।