अमेरिकामै बच्चाका खानेकुरामा ९५ प्रतिशतसम्म विषादी !

✍ बिप्लब पोख्रेल    11 months ago

‘मेड इन अमेरिका’ लेखेको देखेपछि हामीमध्ये धेरैजना आँखा चिम्लिएर सामग्रीको प्रयोग गर्छाैं । अझ बच्चाका लागि त झनै विदेशी उत्पादन खोजी–खोजी खुवाउने प्रचलन छ । ब्रान्डेड खानेकुराले बच्चाको विकास सोचेभन्दा छिटो र राम्रो हुने धेरैको विश्वास छ । तर, अमेरिकामै उत्पादित वस्तुमा ९५ प्रतिशतसम्म विषादी भेटिएपछि धेरै आमाबाबु चिन्तित बनेका छन् ।


अमेरिकामा उत्पादित नवजात शिशुका आहारमा ९५ प्रतिशतसम्म धातुजन्य विषादी मिसाइएको भेटिएपछि जनस्तरबाट विरोध सुरु भएको छ । यसै साता प्रकाशित एक अध्ययन प्रतिवेदनले शिशुका आहारामा ९५ प्रतिशत अखाद्य तत्व हुने गरेको तथ्य फेला पारेको हो ।

खाद्य पदार्थमा मिसाइएका यस्ता विषादीले बच्चाको मस्तिष्क तथा शारीरिक विकासमा असर पार्ने विशेषज्ञ बताउँछन् । अध्ययनका लागि एक सय ६८ जना शिशुका लागि प्रयोग गरिएका अमेरिकाका ब्रान्डेड कम्पनीद्वारा उत्पादित वस्तुलाई नमुनाका रूपमा लिइएको थियो ।

नमुना खाद्य पदार्थमा ९५ प्रतिशत लिड, ७३ प्रतिशत आर्सेनिक, ७५ प्रतिशत क्याडमियम (जिंक र कर्करीजस्तै धातु), ३२ प्रतिशत मर्करी फेला परेको छ । बच्चाको खानामा सबै प्रकारका विषादीको मात्रा एक चौथाइजति रहेको हेल्थ बेबी फुड डट ओआरजीमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा पाँच बच्चामध्ये एकजनाको खानेकुरालाई दशपटकसम्म सूक्ष्म परीक्षण गरिएको थियो । यो नतिजा र यसअघि फुड तथा ड्रग प्रशासनले गरेको अध्ययनको नतिजामा धेरै समानता पाइएको छ ।

प्रशासनको अध्ययनले पनि बच्चाको खाद्य पदार्थमा ३३ देखि ३९ प्रकारका विषादी फेला परेको देखाएको थियो । यो अध्ययनले धेरैजसो चामलबाट बनेका, गुलियो आलु तथा जुसजन्य खाद्यान्नमा बढी विषादी फेला परेको देखाएको छ ।

प्रतिवेदनले बच्चाले खाने कुनै पनि खाना वा खाजामा थोरै मात्रमा विषादी भेटिए पनि बच्चाको दिमागी विकास तथा बौद्धिक क्षमता (आइक्यू)मा ह्रास आउने सक्ने दाबी गरेको छ ।

गैरसरकारी संस्था तथा दाताहरूको छाता संगठन ‘स्वस्थ बच्चा, उज्यालो भविष्य (हेल्दी बेबिज्, ब्राइट फ्युचर) नामक संस्थाले यो अध्ययन गरेको थियो । संस्थाले नवजात शिशुको जीवनको पहिलो महिना उनीहरूको कलिलो मस्तिष्कलाई असर गर्ने केमिकलयुक्त खानेकुराको सेवन हटाउने अभियान सञ्चालन गर्दै आएको छ ।

सन् २००४ मा बंगलादेशमा ५–१५ वर्षका बच्चामाथि गरिएको अध्ययनले आर्सेनिकयुक्त पानीले बच्चाको मस्तिष्क विकासमा कसरी असर गरेको छ भन्ने तथ्य देखाएको थियो । उक्त अध्ययनले पिसाबमा आर्सेनिकको मात्रा ५० प्रतिशत बढ्दा बच्चाको बौद्धिक क्षमता ०.४ पोइन्टले घट्ने तथ्यांक सार्वजनिक गरेको थियो । आर्सेनिक पानी, माटो तथा हावामा पाइने केमिकल हो । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

कस्ता खानेकुरा खाने ? 
आकर्षक विज्ञापन हेरेको भरमा आमाबाबुले आफ्ना बच्चाका लागि बजारका खानेकुरा किन्नुभन्दा सम्भव भएसम्म घरमा बनाएका, ताजा खानेकुरा खुवाउनु स्वास्थ्यका लागि राम्रो हुने अध्ययनको सुझाव छ ।

अध्ययनका अनुसार चामलबाट बनेको, माटोमुनि फल्ने खानेकुरा, जस्तै– आलु, गाँजर, सखरखण्ड र बजारमा पाइने रेडिमेड जुसमा बढी विषादी फेला पर्ने गरेको छ । ‘यसो भन्दैमा बजारमा पाउने सबै खाद्य पदार्थ प्रयोग नै नगर्ने भनेको होइन, सकेसम्म ताजा र घर तयार पारिएका वस्तु प्रयोग गर्नु उत्तम हुन्छ,’ अध्ययनमा भनिएको छ । साथै सम्बन्धित निकायले खाद्य पदार्थ उत्पादन गर्ने कम्पनीलाई पनि यस्ता संवेदनशील विषयमा उच्च सतर्कता अपनाउँदै विषादीयुक्त उत्पादनमा कमी ल्याउनेतर्फ सचेत गराउनुपर्ने देखिन्छ ।