नेवार समुदायले मनाए भाइटीका

✍ बिप्लब पोख्रेल    11 months ago

नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कात्तिक शुक्ल द्वितीयाको दोस्रो दिन नेवार समुदायले यो पर्व मनाएका हुन्


नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा मंगलबार नै भाइटीका लगाउनुपर्ने उल्लेख छ । त्यसअनुसार नेवार समुदायका कतिपय मानिसले मंगलबार नै भाइटीका लगाएका थिए । समिति सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत रूपमा मंगलबार नै भाइटीका ग्रहण गर्नुपर्नेमा राजनीतिक उद्देश्य बोकेका संस्थाको आह्वानमा नेवार समुदायलाई विभाजित गरिएको बताउछन । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई भाइटीका मनाइएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।