प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीचको भेटवार्ता किन गोप्य ?

✍ बिप्लब पोख्रेल    11 months ago

बाकुमा प्रधानमन्त्री ओलीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको भेटवार्ताको भिडियो मदुरोको ट्वीटबाट सार्वजनिक

काठमाडौँ — गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरूले उक्त भेटवार्तालाई ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चारमाध्यममा खुलाउनै चाहेका थिएनन् ।


‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने परराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ । भिडियोमा उक्त द्विपक्षीय औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागी, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल र न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राईसहित सहभागी देख्न सकिन्छ । यस पटक असंलग्न आन्दोलनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्केपछि परराष्ट्र मन्त्रालयले जारी गरेको नोटमा ‘असंलग्न आन्दोलनका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति मदुरो र उत्तर कोरियाली सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाईसँग शिष्टाचार भेटघाट भएको’ भन्ने औपचारिकताको सूचना भने राखिएको छ ।