होम स्टेको लोकप्रियताले तारे होटेललाई चुनौती

✍ बिप्लब पोख्रेल    11 months ago

१३ कात्तिक, काठमाडौं ।  मुलुक द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरै शान्ति प्रक्रियामा आएका थियो । सशस्त्र द्वन्द्वका क्रममा विदेशी पर्यटकहरुले भौतिकरुपमा खासै क्षति व्यहोर्न परेन । तर, लगानीकर्ताहरु हतोत्साही भएका कारण आतिथ्य उद्योगमा लगानी आउन सकेको थिएन । ठीक त्यहीबेला नेपाल भ्रमण वर्ष २०११ को एक महत्वपूर्ण उपहार बनेर आयो होम स्टे अर्थात घरबास ।


सशस्त्र द्वन्द्वबा बेला भएकै होटेलहरु बन्द भइरहेका थिए । तत्कालीन भ्रमण वर्ष अभियानका दौरान आतिथ्य सेवालाई पर्यटक आकर्षित गर्ने माध्यमका रुपमा विकास गर्ने अवधारणा अगाडि बढ्यो । फलस्वरुप सरकारले देशमा होम स्टे प्रवर्द्धनको नीति लियो । होम स्टे सञ्चालनको कार्यविधि बन्यो । मापदण्ड तोकियो ।

फलस्वरुप अहिले देशका ५५ भन्दा बढी जिल्लामा होम स्टे सञ्जाल विस्तार भइसकेको होम स्टे एशोसिएशनका अध्यक्ष केशव बडाल बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१८ सम्म विभागको दर्ता प्रक्रियामा ३२४ घरका ५९७ कोठामा होम स्टे संचालनमा आइसकेका छन् । यी कोठामा १ हजार ६ बेड पाहुनाका लागि तयार छन् । त्यसपछि भने होम स्टेको दर्ता स्थानीय सरकारको जिम्मामा पुगेको छ ।

पछिल्लो समय होम स्टेतर्फ आकर्षण बढेका कारण होम स्टेको संख्या पनि बढेको अध्यक्ष बडालले उल्लेख गरे । बडालका अनुसार अहिले देशभर ६ सय निजी तथा सामुदायिक होम स्टे खुलेका छन् । कूल १८ सय घरधुरीमा होम स्टे विस्तार भइसकेको उनले जानकारी दिए ।

नेपालको पहिलो होम स्टे स्याङ्जाको सिरुवारी हो । यहाँ २०५४ सालमै होम स्टे शुरु भएको हो ।

स्वरोजगार र संस्कृति संरक्षणको आन्दोलन

होम स्टे अभियन्ता यसलाई एक आन्दोलनका रुपमा ब्याख्या गर्छन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालका प्रथम उपाध्यक्ष दीपक दाहाल ग्रामिण पर्यटनले युवा स्वरोजगार वृद्धि र संस्कृति संरक्षणमा उल्लेख्य भूमिका खेलेको बताउँछन् ।

‘पैसा शहरबाट गाउँ जाने लैजाने माध्यम होम स्टे बनेको छ,’ उनी भन्छन्, ‘कपिय स्थानमा विदेशमा मनग्य कमाउने यूवा पनि गाउँ फर्केर होम स्टे प्रवर्द्धनमा लागेको देखिएको छ ।’ भिटोफ आफैले ग्रामिण गन्तब्य पहिचान गरी त्यसलाई बर्सेनि प्रवर्द्धन गर्न सक्रिय संस्था हो । यस संस्थामार्फत हरेक वर्ष तीन वटा नूमना गाउँ छनोट गरी त्यसलाई वर्षभर प्रवर्द्धनको सूचिमा राख्ने गरिन्छ ।

त्यसो त होम स्टेले संस्कृति, संरक्षणमा उत्तिकै ठूलो भूमिका खेलेको छ । ग्रामिण र शहरी इलाकाबाट लोप भइसकेका मौलिक गीत संस्कृति, झाँकी, लत्ता कपडा होम स्टेले संरक्षण गरेको छ । युवापुस्ताले परम्परागत भाषा, संस्कृति, सिकेका छन् । उनीहरु हरेक साँझ पाहुनालाई मौलिक संस्कृति र रमझम देखाउने गर्छन् । त्यसैका माध्यमबाट होम स्टेले एकातर्फ राम्रो आम्दानी गरिरहेको छ भने अर्कोतर्फ मौलिकता समेत बाचिरहेको छ । उपाध्यक्ष दाहाल भन्छन्, ‘तपाईले अब मेला पर्वमा समेत नभेट्ने मौलिकता होम स्टेमा भेटाउनु हुन्छ, यो भन्दा ठूलो योगदान के हुन सक्छ ।’

४ हजार ४ सय रोजगारी

होम स्टेले गाउँमा पर्यटक मात्र लगेको छैन, साथमा विकास र समृद्धि पनि भित्राइहरेको छ । एक सामुदायिक होम स्टे स्थापना गर्न ५ वटा घरधुरी आवश्यक पर्छ । उक्त होम स्टेसम्म पुग्न बाटो आवश्यक पर्छ । बत्ति-विजुली, शौचालय, खानेपानी होम स्टेका अत्यावश्यक पूर्वाधार हुन् ।

जहाँ होम स्टे सञ्चालन गर्ने हो, ती घरले यी पूर्वाधार बनाउनैपर्छ । घरवरपर सरसफाइ राख्नुपर्छ । पाहुनालाई खुवाउने मासुदेखि तरकारी र खाद्यान्नसम्म स्थानीय तहमै उत्पादन हुन्छ । जसले गर्दा कृषि उपजले बजार पाएको छ । पशुपालन पुनः फस्टाउन पाएको छ ।

होम स्टे एशोसिएशनका अनुसार देशभर होम स्टेकै कारण करीव ४ हजार ४ सय  रोजगारी सिर्जना भएको अनौपचारिक तथ्यांक छ । एक घरमा होम स्टे चल्दा त्यसले दिने बहुआयामिक रोजगारीको अवसरले ग्रामीण भेगमै आम्दानीका बाटोहरु खुल्न थालेका छन् ।

छुवाछुत विरोधी अभियान

होम स्टेमा छुवाछुत हुँदैन । दलित समुदायले चलाएको होम स्टेमा ब्राहृमण समुदायका रुपमा सहजै जाने गर्छन् । थकाली होम स्टेमा दलित समूदायका मानिस सहजै घरभित्र पसेर भान्सा गर्न सक्छन् । त्यसकारण होम स्टेले नेपाली समाजमा रहेको छुवाछुतको विकृति हटाउन समेत उल्लेख्य भूमिका खेलेको होम स्टे अभियन्ताहरु बताउँछन् ।

जब कमजोर आय भएका मानिसहरुको आम्दानी बढ्छ, त्यसले स्वतः ती समुदायको पनि पुनरुत्थान हुन थाल्छ । अहिले अधिकांश स्थानमा दलित र जनजाति समुदायले चलाएका होम स्टे बढी फस्टाएका छन् । लमजुङको घलेगाउँमा गुरुङ समुदायले होम स्टे चलाएका छन् भने बर्दियाको डल्ला होम स्टे थारु संस्कृतिका लागि चर्चित छ ।

यसकारण शुरु भयो होम स्टे

सरकारले २०६७ सालमा होम स्टे सञ्चालन कार्यविधि ल्याएर होम स्टेको अवधारणा शुरु गरेको छ । यस कार्यविधि अनुसार होम स्टे संचालनको मूख्य उद्देश्य पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायसम्म पुर्‍याउनु हो ।

ग्रामीण समुदायको आयस्रोत वृद्धि गरी स्वरोजगार प्रवर्द्धन गर्न यो अभियान प्रारम्भ गरिएको हो । पर्यटकलाई ग्रामिण जनजीवनबारे जानकारी गराउने र संस्कृति, रीतिरिवाज, कला संस्कृति, र रहनसहनको उत्कृष्ट अनुभव हासिल गर्ने मौका प्रदान गर्ने गरी होम स्टे शुरु गरिएको हो । होम स्टेको अवधारणा शहरका लागि पनि ल्याइएको हो । शहरमा पर्यटकलाई सरल र सहज बसोबासको व्यवस्थाका लागि होम स्टे शुरु भएको हो ।https://www.onlinekhabar.com/2019/10/807194