एन्टिबायोटिक प्रयोग गर्दा ध्यान दिनुस्

✍ sudarshan sharma    11 months ago

कीटाणु र ब्याक्टेरियाबाट हुन सक्ने संक्रमणबाट बच्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ, यसले ब्याक्टेरियालाई मार्ने काम गर्छ । एन्टिबायोटिक औषधि एक सयभन्दा बढी किसिमका हुन्छन्, तर संक्रमण रोक्न थोरै किसिमका यस्ता औषधि मात्र प्रयोगमा ल्याइन्छन् ।घाँटीको संक्रमण, निमोनिया, पिसाबमा संक्रमण, पेटमा संक्रमणले हुने विभिन्न समस्याको निवारणमा यस्ता औषधि प्रयोग गरिन्छन् ।  संक्रमणको किसिम, अवस्था आदि विभिन्न आधारमा फरक खालका एन्टिबायोटिक प्रयोगमा ल्याइन्छ । अर्थात् बिरामीको जाँच गरेर मात्र औषधि दिइन्छ ।


के हो एन्टिबायोटिक रेसिस्टेन्स ?
पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ, यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको हो । एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनेको छ । नेपालजस्तो विकासोन्मुख देशमा चुनौती अझै भयावह छ ।
कारण

  •  शरीरमा एन्टिबायोटिकले काम गर्न छाड्नुको मुख्य कारण यसको जथाभावी प्रयोग नै हो । शरीरमा एन्टिबायोटिक आवश्यक नभएको अवस्थामा पनि यसको प्रयोग गर्दा क्षमता स्वतः घट्दै जाने गर्छ । जस्तो भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी सामान्यतया ३ दिनमा आफैँ निको हुने गर्छ, तर यसका लागि समेत एन्टिबायोटिकको प्रयोग गर्ने गरिन्छ । एन्टिबायोटिकको प्रयोग चाहिनेभन्दा बढी मात्रामा प्रयोग हुँदा समेत यसको असर घट्दै जान्छ । हामीकहाँ औषधि पूर्ण रूपमा सेवन नगर्नु अर्को चुनौतीको विषय रहने गर्छ । बिरामीले औषधिको पूरा डोज नलिँदा तत्काल रोग निको भए पनि स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ ।
  •  एन्टिबायोटिक औषधि स्वास्थ्यसंस्था र मेडिकलमा सजिलै उपलब्ध हुन्छन्, यसको प्रयोगमा कुनै किसिमको प्रतिबन्ध छैन । त्यसैले अनावश्यक प्रयोग बढेको छ । अहिले प्रयोगमा आइरहेका एन्टिबायोटिकहरू धेरै समयअघि बनाइएका औषधि हुन् । बजारमा नयाँ एन्टिबायोटिकको अभावले पनि ‘एन्टिबायोटिक रेसिस्टेन्स’ बढाउन भूमिका खेल्छ ।

चुनौती 

बिस्तारै मानिस, पशुपक्षी तथा बोटबिरुवामा लागेका रोगको उपचारमा कठिनाइ बढ्दै जान्छ । मानिस तथा अन्य जीवमा रोगको क्रम बढ्दै जाने हुन्छ । समयमै रोग निको नहुने हुँदा मानिसमा एक किसिमको डर बढ्दै जान्छ । जसले गर्दा भयावह अवस्था सिर्जना हुन सक्छ । उपचारमा लामो समय लाग्ने हुँदा खर्चिलो हुन्छ । जसले गर्दा आर्थिक भार बढ्दै जान्छ ।

रोकथाम
एन्टिबायोटिक औषधि विभिन्न किसिमका हुने भएकाले सम्बन्धित रोगको परीक्षणविना प्रयोग गर्नुहुँदैन । सबै एन्टिबायोटिक औषधि सबैका लागि उपयुक्त नहुन सक्छन् । बच्चामा पनि एन्टिबायोटिक औषधिले असर पार्ने भएकाले निकै ख्याल गर्नुपर्ने हुन्छ । कसरी सेवन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ ।

औषधि किन्दा केसँग खाने भनेर अनिवार्य चिकित्सकसँग सोध्नुपर्छ । मिर्गाैलाको बिरामीले पनि औषधि सेवन गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुन सक्छ । जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्दा यसले नकारात्मक परिणाम दिन्छ । त्यसैले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि प्रयोग गर्नुपर्छ ।