बब प्राक्टरको सफलता सूत्र : सिकेका कुरा लागू गरौँ

✍ बिप्लब पोख्रेल    1 year ago

प्रेरणादायी प्रशिक्षक तथा लेखक बब प्राक्टर विश्वका धेरै व्यक्ति र व्यवसायीलाई सफलताका मन्त्र सिकाउँछन् । ‘द सेक्रेट’ डकुमेन्ट्रीमार्फत चर्चाको शिखरमा पुग्नुअघि नै बबले व्यक्तित्व विकासको दुनियाँमा आफ्नो अलग स्थान बनाइसकेका थिए । उनको दृष्टि, प्रेरणा, आइडिया, प्रणाली र रणनीतिलाई व्यवहारमा उतारेर धेरैेले आत्मालाई जागरुक बनाएका छन् र जीवन परिवर्तन गरेर दशौँ लाख डलर आम्दानी गरेका छन् । सफलताबारे बबका केही सूत्र :


तत्काल कार्यान्वयन गर्नुस् 
बब व्यक्तिगत अभिवृद्धिको यात्राका दौरान यसरी प्रस्तुत हुन्छन्, मानौँ उनी प्रेरणादायी गुरु नभएर आफैँ सूत्र कार्यान्वयन गर्ने व्यक्ति हुन् । उनलाई भेट्ने, उनका पुस्तक पढ्ने र वेबसाइट भ्रमण गर्नेले ‘सोचौँ र धनी बनौँ’ भन्ने मन्त्र सिक्छन् । बब आफैँ पनि यही सूत्र उतारेर सफल भएका हुन् । जब उनलाई कुनै सफल व्यक्ति तथा गुरुले केही गर्न भनेका थिए, उनले तत्काल कार्यान्वयन गरे ।  ‘तपाईं सफल बन्न चाहनुहुन्छ भने आफ्नो काममा ध्यान दिनुपर्छ । सफलताका पुस्तक पढ्ने मात्रै होइन, त्यसमा बाँच्न सिक्नुपर्छ,’ प्राक्टर भन्छन्, ‘त्यसलाई सल्लाहका रूपमा लिने मात्र होइन, पछ्याउनुपर्छ । तपाईंको कामले नै हो, सफलता ल्याउने ।’

दिग्गजसँग सिक्नुस् 
सत्य यही हो कि एउटा सफल व्यक्ति अन्य सफल व्यक्तिबाट घेरिएको हुन्छ, यदि तपाईं माथिल्लो तहको विजेता बन्न चाहनुहुन्छ भने तपाईं दयालु व्यक्तिबाट घेरिन जरुरी छ, जसले तपाईंलाई चाहेको ठाउँसम्म पु-याउन सहयोग गर्छन् । तपाईंलाई चुनौती दिन्छन् र नयाँ तहको सफलताका लागि प्रेरित गर्छन् । शीर्ष बन्ने सजिलो बाटो त्यस्ता व्यक्ति भेट्ने हो, जो अहिल्यै सफलताको शिखरमा छन् र तपाईंको सहयोगका लागि हात लम्काइरहेका छन् ।

धेरैभन्दा धेरै अध्ययन 
धेरै सफल व्यक्तिझैँ बबसँग औपचारिक शिक्षा थिएन, उनले उच्च शिक्षा पूरा गरेनन् । तर, आफ्ना गुरु र अनुभवबाट जे शिक्षा हासिल गरे, त्यो डिग्रीभन्दा कम छैन । यदि तपाईं सफल बन्न चाहनुहुन्छ भने तपाईं आफैँ जागरुक हुनुपर्छ, आफैँले सिक्नुपर्छ । त्यस्ता धेरै पुस्तक पढ्नुस्, जसलाई तपाईंले व्यवहारमा उतार्न सक्नुहुन्छ, तपाईंको क्षमता र आयले धानेसम्म धेरैभन्दा धेरै सेमिनारमा जानुस् र धेरैभन्दा धेरै कोर्स गर्नुस् । शिक्षा, सचेतना, विश्वास र कार्यबाट सफलता अवश्यम्भावी छ ।

लक्ष्य खोज्नुस् 
हराएका, अनिश्चित, द्विविधामा परेर समाधान खोजिरहेकालाई बबको सुझाब छ– कलम र कापी बोकेर एक्लै समय व्यतीत गर्नुस् । तपाईं कस्तो जीवन बाँच्न चाहनुहुन्छ र के महानता छाड्न चाहनुहुन्छ भनेर लेख्नुस् । अनि त्यसलाई ध्यान दिएर जीवनमा उतार्न थाल्नुस् । हामी सबै आफूभन्दा माथिल्लो कुराबाट प्रेरित छौँ र हामी सबैसँग जित्नका लागि ठूलो लक्ष्य छ । हामी त्यो लक्ष्यलाई संशोधन वा परिवर्तन गर्न सक्दैनौँ भने त्यसलाई पछ्याउने वा खोज्ने गर्नुपर्छ ।