११ महिना काठमाडौं बसेका थिए गुरुनानक

✍ बिप्लब पोख्रेल    1 year ago

फेरिएको समयसँगै शिख समुदायका नयाँ पुस्ताको नेपाल बसाइ निरन्तर घट्दो छ

काठमाडौँ — शनिबार दिउँसो कुपन्डोलको गुरुद्वारा नानक सत्संग समितिमा ठूलो सत्संग हुँदैछ । त्यसको अघिल्लो दिन त्यहाँ पुग्दा बाक्लो चहलपहल थियो । एउटा किशोरीको नेतृत्वमा केही युवा शिख बिहानैदेखि मूल ढोकाको सरसफाइमा व्यस्त थिए । तिनीहरूको अनुहारमा अपार खुसी स्पष्ट देखिन सकिन्थ्यो, किनभने उनीहरू आफूखुसी गुरुनानकको सेवामा तल्लीन थिए । छेउमै केही उमेर पुगेका भलादमी देखिने शिख पनि थिए ।


उनीहरूको प्रश्न थियो- गुरुनानकको सेवाका लागि यस्ता युवा नेपाली शिख यहाँ कहिलेसम्म रहन्छन् होला ? यो यस्तो प्रश्न थियो, जसमा सम्भावना, विश्वास र निराशा सबै लुकेको छ । केही दिन कुपन्डोलको त्यस सत्संग समितिमा पुग्दा ठ्याक्कै अनुभव गर्न पाइयो, नेपाली शिख समुदायमा युवा पुस्तालाई लिएर खुबै चिन्ता रहेछ । नेपालमा शिख समुदायको जनसंख्या घट्दै छ । युवा पुस्ता विदेशतिर पलायन हुँदै छन् । सबैको मनमा रहेछ, अब के गर्ने, कस्तो गर्ने ?

सन् ’५० तिर भारतको जम्मुबाट कसरी शिख समुदाय नेपाल प्रवेश गरे र कसरी ट्रान्सपोर्टको व्यवसाय चलाए, त्यसबारे धेरै लेखिसकिएको छ । सुरुआती दिनमा काठमाडौंमा रेस्टुरेन्ट व्यवसाय सुरु गर्नेमध्येमा शिख समुदाय नै थिए । काठमाडौंमा पञ्जावी परिकार उत्तिकै लोकप्रिय छ । नेपालको विकासमा शिख समुदायको योगदानबारे पनि धेरैलाई थाहा छ । शिख समुदायसँग छोटो संगत मात्र गर्नुपर्छ, उनीहरूको इमान्दारिता नजिकबाट अनुभव गर्न सकिन्छ । अहिले काठमाडौंमै जति शिख समुदाय छन्, ती दोस्रो पुस्ताका हुन् । पहिलो पुस्ताका धेरै कम नै भए ।

अब तेस्रो अथवा चौथो पुस्तामा पुगिसकेको छ, नेपाली शिख समुदायको नेपाल बसाइ । नेपालमा शिख समुदायको विस्तृत र समृद्ध इतिहास छ । हालको पुस्ताका शिख धर्मावलम्बी नेपालीको सबभन्दा ठूलो चुनौती हो- त्यही इतिहासलाई भविष्यसम्म जीवन्त राख्ने । यो वर्ष शिख धर्मका लागि विशेष पनि छ, किनभने यसैपटक आउँदै छ यो धर्मका प्रवर्तक गुरुनानकको ५ सय ५० औं जन्मजयन्ती- नोभेम्बर १२ मा ।

त्यही जन्मदिन मनाउने सुरुआत हो भन्दा हुन्छ, शनिबारको सत्संग । फेरि यो साता नेपाली शिख समुदायका लागि विशेष पनि रह्यो । नेपाल राष्ट्र बैंकले गुरुनानकको सम्मानको सिक्का जारी गरिसकेको छ । यी सिक्का तीन प्रकार छन्, सय, हजार र २५ सयको । यसरी गुरुनानकको सम्मानमा एकैपल्ट तीन फरक सिक्का जारी गर्ने नेपाल नै सम्भवतः पहिलो देश हुनुपर्छ । गुरुनानकको सम्मानमा विरलै सिक्का जारी भएका छन् ।

गुरुनानकको नेपाल यात्रा

गुरुनानकको नेपालसँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ । करिब पाँच सय वर्षअघि उनले नेपाल भ्रमण गरेका थिए । गुरुनानकले सन् १५१५-१६ मा ११ महिनाजति काठमाडौंमा बिताएका थिए । त्यो समय काठमाडौंमा मल्ल शासन चलिरहेको थियो । गुरुनानकले आफ्नो जीवनको २२ वर्ष धार्मिक भ्रमणमा बिताए । त्यसमध्ये उनको तेस्रो भ्रमण तीन वर्षको थियो र त्यसमध्ये पनि लगभग ११ महिना उनी काठमाडौंमा रहे । त्यति बेला उनको बसाइ बालाजुतिर थियो भनिन्छ ।

अहिले बालाजुको विष्णुमती पुलछेउमै प्राचीन गुरुनानक मठ छ । त्यहीं बसेर नानकले धार्मिक प्रवचन दिए, अन्य गुरुहरूसँग धार्मिक बहस पनि गरे । गुरुनानकबाट मल्ल राजाहरू पनि अप्रभावित रहेर बस्न सकेनन् । त्यहाँ मठ निर्माण गर्न तत्कालीन राजाले १ हजार ६ सय रोपनी जग्गा प्रदान गरेको तथ्य इतिहासमा छ । काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालामा त्यस मठले कानुनी रूपमा उक्त जग्गामाथि अधिकार प्राप्त गरेको थियो ।

बालाजुको मठ शिख धर्मभित्र पनि उदासी समुदायकोहो । यस सम्प्रदायका अनुयायीले पहेँलो वस्त्रधारण गर्ने गर्छन् । गुरुनानकका छोरा श्री चन्दले यो सम्प्रदाय सुरु गरेको मानिन्छ । बालाजुको त्यस मठमा गुरुनानकको खुट्टा टेक्दाको पाउअंकित ढुंगा पनि छ । यहीं त्यो पीपलको रूख पनि छ, जहाँ गुरुनानकले लामो समय ध्यान गरेको विश्वास गरिन्छ । यही सबै जानकारी समेटेर अमेरिकी लेखक मनजित सिंहले लामो अनुसन्धानपछि एउटा पुस्तक पनि तयार पारेका छन्, ‘डिस्कभरी अफ गुरुनानक पातशाह भिजिट इन काठमान्डू’ ।

यो प्राचीन गुरुनानक मठसँगै काठमाडौंमा पाँचवटा मठ रहेका छन् । त्यसमध्ये अरू मठ म्हेपी, ज्ञानेश्वर, पशुपति र शोभा भगवतीमा छन् । पशुपतिमा रहेको मठमा शिख धर्मसँग सम्बन्धित कतिपय दुर्लभ ग्रन्थ पनि संग्रहित छन् ।

प्राचीन मठमा अतिक्रमण प्राचीन गुरुनानक मठ गुठी संस्थानअन्तर्गत छ र यो लगातारको जग्गा अतिक्रमणपछि ३२ रोपनीमा खुम्चिसकेको छ । सन् ६० को दशकबाट सुरु भएको जग्गा अतिक्रमण अहिलेसम्म पनि चलिरहेको छ । यस जग्गालाई लिएर सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन छ । शिख धर्ममै यस मठको ठूलो महत्त्व रहे पनि खासै प्रचारप्रसार भने हुन सकेको छैन । त्यसैले यसलाई शिख धर्ममा बिर्सिएको पवित्र धार्मिक स्थल पनि भन्ने गरिन्छ ।केही दिनअघि मात्र बाटो फराकिलो पार्ने क्रममा त्यहाँ थप जग्गा अतिक्रमण भएको थियो र यस क्रममा धेरै रूख पनि काटिएका थिए । काठमाडौंको सुगम स्थानमा रहेका हुनाले पनि मठको जग्गामा धेरैको आँखा लागेको देखिन्छ । गुरुद्वारा नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह त्यस मठको जग्गालाई गुरुद्वारा व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुपर्ने माग राख्छन् । नेपाल सरकारले त्यो जग्गा दिएको खण्डमा त्यसलाई नमुना मठको रूपमा विकास गर्ने नेपाली शिख समुदायको दाबी छ ।

नागरिकताको समस्या

ज्ञानी गुरु बखससिंह शिख धर्मका प्रचारक हुन् । उनी प्रायः कुपन्डोलको सत्संग समितिमा भेटिन्छन् । उनी नेपालमै जन्मे, यहीं हुर्के । उनीसँग नेपाली नागरिकता पनि छ । तर उनको समुदायका अरू धेरैले पाएका छैनन् ।

‘नेपालमा रहेको शिख समुदायको सबैभन्दा ठूलो समस्या नै नागरिकता नपाउनु हो,’ बखससिंहले भने । उनले पनि नागरिकता पाउन निकै संघर्ष गर्नुपरेको थियो । पञ्चायतकालमा नागरिकता लिन पुरुषले भादगाउँले टोपी लगाएको तस्बिर अनिवार्य थियो । तर शिख समुदायले धार्मिक विश्वासका कारण टोपी लगाएनन् । शिख धर्मअनुसार यसका अनुयायीले पगडी फुकाल्ने अथवा त्यसमाथि टोपी लगाउन मिल्दैन । ‘दोस्रो र तेस्रो पुस्तासम्मका नेपाली शिख समुदायले नागरिकता नपाएपछि उनीहरू विस्तारै भारततिरै फर्के । यत्तिकै संख्यामा नेपाली शिख क्यानाडा, अमेरिका र अस्ट्रेलियातिर पनि पलायन भए । अनि हाम्रो जनसख्या घट्दै गयो,’ बखस सिंहले भने ।

कुनै समय नेपालमा १० हजारको हाराहारीमा शिखहरू थिए । अहिले यो संख्या छ-सात हजारमा झरिसकेको अनुमान छ । नेपालमा बस्ने शिख समुदायको मुख्य बसोबास काठमाडौंसँगै वीरगन्ज र नेपालगन्ज वरिपरी छ ।

बखस सिंहको चिन्ता छ, नेपालमा शिख समुदायका मठ नभएका पनि होइनन् । तर जति बेला शिख धर्म मान्ने युवा नै नेपालमा हुने छैनन्, त्यति बेला के गर्ने ? जति नेपालमा छन्, तिनमध्ये धेरैको उमेर पनि ढल्दो छ ।

कुपन्डोलको त्यही सत्संग समितिमा जाँदा प्रायः भेटिनेमा पर्छन्, दलेर सिंह । आफ्नो बुबासँग सानो उमेरमै उनी नेपाल छिरे र बाँकी समय यहीं बिताए । तर उनीसँग पनि नेपालको नागरिकता छैन । यसै कारणले उनका छोराछोरीले नागरिकता पाएनन् । त्यसैले उनीहरूले नेपाल छाडे, यहाँ भविष्य देखेनन् । उनी हल्का नेपाल भाषा पनि बोल्छन् र भन्ने गर्छन्, ‘छु खः, खः ला मखुला ?’ त्यसो भनेको, ‘के हो, हो कि होइन ?’ हो । उनको पनि चिन्ता छ, अब उनीजस्ता शिख नेपालमा पातलिँदै छन् ।