नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्दै सरकार

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — सरकारले आगामी सोमबार ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा सोमबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री विना मगरले बताइन् ।


खानेपानी मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभर निजी तथा सार्वजनिक शौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताइन् ।

सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशः खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबै जिल्लामा यस्तो घोषणा भइसकेको जानकारी दिँदै मन्त्री मगरले अभियानमा सबैले सघाएकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको बताइन् ।

खानेपानी मन्त्रालयका अनुसार मुलुकभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय छन् ।