अपडेट : कपास फ्याक्ट्रीको आगो नियन्त्रणमा

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौं–भक्तपुरको बालकोटस्थित एक कपास फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ५ बजे अचानक लागेको आगो दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो ।


सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको कपास फ्याक्ट्रीका दुई गोदाममध्ये एकमा आगो लागेको स्थानीय राम भट्टराईले जानकारी दिए ।

भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् ।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।

काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । आगलागीबाट करीब २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।