कोठामा रङ लगाउँदा यी कुरामा ध्यान दिनुस्

✍ बिप्लब पोख्रेल    1 year ago

मनौवैज्ञानिकहरू रङको संयोजनलाई महत्वका साथ हेर्ने गर्छन् । किनकि घरसँग मानिसको मनोविज्ञान जोडिएको हुन्छ । घरभित्र र बाहिरको वातावरणले व्यक्तिको मानसिकतामा पनि प्रभाव पारिरहेको हुन्छ । घर आफैँमा सानो संसार हो ।

हरेकले आफ्नो घरलाई सुन्दर बनाउन हरसम्भव प्रयास पनि गरिरहेका हुन्छन् । दसैँ नजिकिँदै गर्दा घरको सजावटमा अझ धेरै ध्यान दिन थालिएको छ । घर सजावटका लागि घरमा राखिने फर्निचर, प्रयोग गरिने पर्दा, लुगा, कार्पेट, अन्य सजावटका साम्रगीको उत्तिकै महत्व हुने गर्छ ।


हरेक सामान राख्दा रङको संयोजन कसरी गर्ने भन्ने कुरा झनै महत्वपूर्ण हुन्छ । घरभित्रको डिजाइन गर्दा कलर मिलाउन सकिएन भने घर भद्दा देखिन्छ । आकर्षक देखाउनका लागि भित्ताको कलर, फर्निचर, कार्पेट, पर्दा र अन्य सामानसँग मिल्नेखालको हुनुपर्छ ।

बैठक कोठा
बैठक कोठा खुला, उज्यालो र सहज लाग्ने हुनुपर्छ, यसका लागि भित्ताको कलर चम्किलो भएमा सोफा, टेबुल र दराज आदिको कलर हलुका राख्न सकिन्छ । तर, धेरै चम्किलो रङ पनि असहज लाग्ने खालको हुन्छ । तसर्थ बैठक कोठामा भित्ताको कलर अति चम्किलो राख्नुहुँदैन । यदि बाहिरको प्रकाश सजिलैभित्र नछिर्ने ठाउँमा भएमा भने भित्ताको कलर हाइलाइट गर्न सकिन्छ ।

भान्साकोठा
कोठाको साइजअनुसार कलर गरेर भान्सालाई आकर्षक बनाउन सकिन्छ । वास्तुशास्त्रले पनि कोठाको सजावटमा कलर संयोजनलाई अर्थपूर्ण मानेको छ । भान्सामा सुन्तला र पहेँलो कलर राख्न सकिन्छ । तर, भान्सामा प्रयोग गरिने रङ गाढा हुन आवश्यक छ ।

पछिल्लो समय घरमा न्युट्रल कलर राख्ने चलन बढेको छ । न्युट्रल अर्थात् हलुका खालको देखिने कलरको संयोजनले कोठालाई शान्त र प्राकृतिक देखाउँछ ।

बेडरुम 
बेडरुमको कलरले व्यक्तिको मनोविज्ञानमा असर पार्ने भएकाले कलर मिलाउँदा ध्यान दिनुपर्ने हुन्छ । हलुका नीलो, गुलाबी, पहेँलो कलर संयोजन गर्न सकिन्छ । सुत्ने कोठाको कलर उमेरअनुसार पनि फरक हुने गर्छ ।

खासगरी उनीहरूको सोचाइ, मनोविज्ञान, स्वास्थ्य अवस्था आदिलाई ध्यानमा राखेर कलर राख्नुपर्ने हुन्छ । जस्तै, बालबालिकाको कोठामा हरियो, पिंक र अलिकति हिलिङ हुने खालको कलर राख्नुपर्छ । त्यस्तै, युवायुवती र वयस्कका लागि पहेँलो, हलुका रातो वा गाढा मरुन, नीलो कलर राख्न सकिन्छ । यस्तै, रक्तचाप उच्च भएका व्यक्ति, बिरामी, वृद्धवृद्धा सुत्ने कोठामा धेरै चम्किलो वा धेरै मधुरो रङ राख्नुहुँदैन ।

न्युट्रल कलर 
पछिल्लो समय घरमा न्युट्रल कलर राख्ने चलन बढेको छ । धेरै चम्किलो वा अति रातो, हरियो वा नीलो कलर राख्ने चलन बिस्तारै हट्दै गइरहेको छ । न्युट्रल अर्थात् हलुका खालको देखिने कलरको संयोजनले कोठालाई शान्त र प्राकृतिक देखाउँछ । जसले गर्दा घरमा बस्दा सहज तथा शान्त महसुस हुन्छ ।