दसैँको टिकट बुकिङ खुला पहिलो दिन नै अत्यधिक चाप

✍ बिप्लब पोख्रेल    1 year ago

  •  पहिलो दिन नयाँ बसपार्क काउन्टरबाट मात्रै १४ हजार ५३० टिकट बिक्री
  •  १७ असोजका लागि टिकट खोज्ने धेरै 
  •  लुम्बिनी अञ्चलमा पहिलो दिन नै ३५ बस थप
  •  सेती अञ्चलका १४ देखि १८ असोजसम्मका बस ‘प्याक’


दृश्य १ : धनगढी जाने बसको टिकट काट्ने लाइनमा बसेका रवीन्द्र बम आइतबार बेलुका रित्तै कोठा फर्कनुप-यो । बिहान १० बजेदेखि लाइनमा बसेका उनको साँझ ५ बजे काउन्टर बन्द हुने वेलासम्म पनि पालो आएन । सात घन्टा लाइनमा बसेर पनि टिकट नपाउँदा निराश देखिएका बमले भने, ‘यो वर्ष चाँडै बुकिङ खुला नहुँदा टिकट पाउन गाह्रो भयो ।’
दृश्य २ : बिहान ४ बजे नै लाइनमा बसेका गुल्मीका रस्मिता केसी, इन्दिरा पाण्डे र उनीहरूका साथीले भने बल्लतल्ल बेलुका ४ बजे टिकट पाए । ‘युद्ध जितेजस्तो भयो,’ रस्मिताले भनिन् । लाइनमा धक्का खाँदाखाँदा गाह्रो भएकाले टोकन प्रणाली कायम गर्न उनले सुझाब दिइन् । अर्घाखाँचीका अर्जुन खनाल र अमर खनाल भने टिकट नपाएपछि भोलिपल्ट आउने सल्लाह गरेर फर्किए ।
दृश्य ३
टिकट काट्ने मात्र होइन, तिनको व्यवस्थापन गर्न खटिएका प्रहरी निरीक्षक सन्तोष दाहाल पनि असिनपसिन देखिन्थे । मानिसलाई लाइनमा राख्न मुस्किल भएको उनको भनाइ थियो ।

दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सरकार र यातायात व्यवसायीले आइतबारदेखि नयाँ बसपार्कमा खोलेको अग्रिम टिकट काउन्टर सामुन्नेका दृश्य हुन् यी । सामान्यतया चाडपर्व सुरु हुनुभन्दा एक महिनापहिले नै खोलिने अग्रिम टिकट काउन्टर यस वर्ष १५ दिन ढिला खुल्यो । यातायात व्यवस्था विभागले २५ भदौदेखि नै टिकट बुकिङ खुला गर्ने बताए पनि व्यवसायीले अटेर गरे । उनीहरूले ५ असोजदेखि मात्र टिकट बुकिङ खुला गरेका छन् ।

ढिला बुकिङ खुला गर्दा भिड धेरै देखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने पहिलो दिन भएकाले धेरै भिड भएको र सोमबारदेखि व्यवस्थित गर्दै लैजाने दाबी गरे ।

पहिलो दिन नयाँ बसपार्क काउन्टरबाट मात्रै १४ हजार पाँच सय ३० टिकट बिक्री भएका छन् । सबभन्दा धेरै पश्चिम नेपाल यातायात कम्पनीले तीन हजार टिकट बेचेको छ । नागरिक सहायता कक्ष नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक सुवास देउवाका अनुसार १७ असोजका लागि टिकट खोज्ने धेरै देखिएका छन् ।

भिड नियन्त्रण गर्न ३० दंगा प्रहरी खटाइयो
टिकट काट्नेको भिड नियन्त्रण गर्न प्रहरीलाई समेत गाह्रो परिरहेको छ । त्यसकारण दंगा नियन्त्रण गणका ३० जना प्रहरी खटाइएको छ । त्यस्तै, नेपाल प्रहरीअन्तर्गत निरीक्षक सन्तोष दाहालको नेतृत्वमा पनि १६ जना प्रहरी परिचालन गरिएको छ । सादा पोसाकमा दुईजना प्रहरी पनि खटिएका छन् ।

थोरै काउन्टर, सीमित कर्मचारी
एक अञ्चलबराबर एउटा मात्र टिकट काउन्टर व्यवस्था गरिएको छ । एउटा टिकट काउन्टरमा ६–७ वटा जिल्लाका मानिसले टिकट काट्नुपर्छ । त्यसकारण पनि अधिक भिडभाड लागेको छ । एउटा काउन्टरमा तीनदेखि पाँचजनासम्म कर्मचारी खटिएका छन् । तर, टिकट एकपटकमा एउटा मात्र काट्ने व्यवस्था गरिएको छ । जसले गर्दा टिकट काट्न ढिलाइ भइरहेको छ ।

लुम्बिनी अञ्चलमा पहिलो दिन नै ३५ बस थप
लुम्बिनी अञ्चलमा सञ्चालन हुँदै आएको पश्चिम नेपाल बस व्यवसायी कम्पनीले अग्रिम टिकट बुकिङको पहिलो दिन नियमितबाहेक ३५ वटा बस थप गरिएको जानकारी दिएको छ । कम्पनीका शाखा इन्चार्ज डिल्लीराज भुसालले अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा बस थपिएको बताए ।

सेती अञ्चलमा १४ देखि १८ असोजसम्मका बस ‘प्याक’
सेती अञ्चलमा पर्ने कैलाली, बाजुरा र बझाङ जाने नियमित बसको १४ देखि १८ असोजसम्मको टिकट बिक्री भइसकेको छ । ‘अब बस थपेर मात्र ती दिनका लागि टिकट काट्न सकिन्छ,’ सुन्दर सूदूरपश्चिम यातायात कम्पनीका शाखा इन्चार्ज मीन पनेरूले भने । आइतबार मात्र यी जिल्लाका एक हजार तीन सय टिकट बिक्री भएको उनले जानकारी दिए ।

सिन्डिकेट अन्त्यको घोषणा, तर व्यवसायीको प्रभाव यथावत्
यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य घोषणा भएको डेढ वर्ष पूरा भयो । तर, सार्वजनिक यातायात क्षेत्र व्यवस्थापनमा सरकारले हस्तक्षेप गर्ने गरी काम गर्न नसक्दा सिन्डिकेट सञ्चालन गरिरहेका व्यवसायीको दबदबा यथावत् छ । २५ भदौमा अग्रिम टिकट बिक्री गर्ने सरकारको योजना व्यवसायीका कारण रोकियो ।

सरकारले हस्तक्षेप गरेर तोकिएको मितिमा अग्रिम टिकट खुलाउन सकेन । बरु व्यवसायीले भनेअनुसार ५ असोजमा मात्र टिकट बुकिङ खुला गरियो । जसले गर्दा धेरै सर्वसाधारणले समयमै टिकट सुरक्षित गर्न पाएका छैनन् र एउटा टिकटका लागि दिनभर लाइनमा बस्दा पनि नपाउने अवस्था सिर्जना भयो । ‘सरकारले यातायात व्यवसायीलाई होइन, यातायात व्यवसायीले सरकार चलाइरहेका छन्,’ यातायात मन्त्रालयका एक अधिकारीको भनाइ छ ।

अग्रिम टिकट काट्न लाइनमा बसेका धनगढीका चन्द्रबहादुर डगौराले सरकारले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य घोषणा गरे पनि व्यवहारमा कुनै परिवर्तन नभएको बताए । ‘रातिदेखि टिकटको लाइनमा भोकभोकै बस्दा पनि पाइँदैन भने हाम्रा लागि सिन्डिकेट हुनु र नहुनु एउटै हो,’ उनले भने । गुल्मीका पदम मगरले पनि सिन्डिकेट अन्त्यपछि पनि व्यवसायीको व्यवहारमा कुनै परिवर्तन नभएको बताए ।