भिसा दुरुपयोग गर्ने ३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशीलाई जरिवाना

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — पर्यटक भिसाको दुरुपयोग गर्ने ११ विदेशीलाई गृह मन्त्रालयले जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।


३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशी नागरिकले पर्यटक भिसामा आएर विभिन्न आयोजना तथा गैरसरकारी संस्थामा काम गरेको भेटिएपछि अध्यागमन कानुनअनुसार जरिवाना गरिएको मन्त्रालयले जनाएको छ ।

गृहले उनीहरूलाई अध्यागमन कानुनअनुसार ‘वर्किङ भिसा’ प्रक्रियामा जान निर्देशनसमेत दिएको छ । कारबाहीमा परेका विदेशीमध्ये अमेरिकी सहयोग नियोग (यूएसएआईडी) परियोजनाका ३, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका ३, तनहुँ हाइड्रोपावरका ४ र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत आयोजनाका १ चिनियाँ छन् ।

गृहसचिव प्रेमकुमार राईले सचिवस्तरीय निर्णय गरी पर्यटक भिसा दुरुपयोग गर्ने विदेशीसँग जरिवाना असुलीका लागि अध्यागमन विभागमा पठाएका थिए । पर्यटक भिसामा आएका विदेशीले १५ दिनको ३० अमेरिकी डलर, ३० दिनको ५० र ९० दिनको १ सय २५ डलर शुल्क तिर्नुपर्छ ।

पर्यटक भिसाको अवधि थप्न प्रतिदिन ३ अमेरिकी डलरका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था छ । पर्यटक भिसामा आएर काम गर्ने अरू पनि हुन सक्ने शंका गर्दै छानबिन गरी कारबाही गर्न पनि गृह मन्त्रालयले अध्यागमन विभागलाई निर्देशन दिएको छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल